लिफ्टले मध्यरातीदेखि क्यालिफोर्नियामा सेवा बन्द गर्ने, उबरले पनि बन्द गर्ने चेतावनी


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको छ । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने अदालतको फैसलापछि लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको हो ।

स्थानीय समय आज राती ११ बजेर ५९ मिनेट जाँदादेखि क्यालिफोर्नियाभर सेवा बन्द गर्ने लिफ्टले जनाएको छ । आफूहरुले सेवा संचालन गर्नका लागि सक्दो प्रयास गरेपनि सम्भव नभएको लिफ्टले जनाएको छ ।

गत अगस्त १० मा सान फ्रान्सिस्को सुपेरियर कोर्टका न्यायाधिसले एप्लीकेशनमार्फत यात्रु बोक्ने कम्पनीहरुले आफ्ना चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने फैसला गरेका थिए । पुनरावेदन गर्न चाहेको खण्डमा १० दिनको अवधि दिइएको थियो, जुन आज समाप्त हुँदैछ ।

उबर र लिफ्टले आफ्ना चालकहरुलाई अहिले स्वतन्त्र ठेकेदारहरुका रुपमा सुचिकृत गर्दै आएका छन् । स्वतन्त्र ठेकेदारका रुपमा स्वीकृत गर्दा चालकहरुलाई अहिले न्यूनतम ज्याला, स्वास्थ्यविमा, तलबी विरामी विदा लगायतका सुविधा दिन पर्दैन ।

उबरले पनि चालकलाई कामदारका रुपमा सुचिकृत गर्न दवाव दिएमा आफ्नो सेवा क्यालिफोर्नियामा बन्द गर्ने बताउँदै आएको थियो । अमेरिकामा नेपालीहरु ठूलो संख्यामा उबर र लिफ्ट चालक छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com