राष्ट्रपति चुनावमा पत्रमार्फत हुने मतदानलाई सम्हाल्नसक्ने हुलाक सेवाका प्रमुखको आश्वासन
प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार
अमेरिकी हुलाक सेवाका प्रमुख लुई डीजोएले राष्ट्रपति चुनावमा पत्रमार्फत हुने मतदानलाई सम्हाल्नसक्ने आश्वासन अमेरिकनहरुलाई दिएका छन् । उनले चुनावभन्दा अगाडि पत्र प्रकृयामा लैजाने उपकरण हटाउने, बक्सहरु संकलन गर्ने लगायतका हुलाकसेवाको कामकारवाहीमा परिवर्तन नगर्ने बताएका हुन् ।
उनले हुलाक सेवाका कैयन नीतिमा परिवर्तन ल्याएपछि हुलाकले गर्ने डेलिभरीमा ढिलाई आएको सन्दर्भमा हुलाकबाट पठाइने पत्रमार्फत हुने मतदानमा प्रश्नचिन्ह खडा भएको बेला यो भनाई आएको हो । हुलाक सेवामा ल्याउन लागेको परिवर्तनलाई चुनाव अगाडि कार्यान्वयन नगर्ने बताएपछि मेलइन मतदानमा समस्या नहुने अपेक्षा गरिएको छ ।
चुनावमा मतपत्रको डेलिभरीमा कुनै समस्या आउन नदिन आफूले हुलाक सेवाको कामकारवाहीको परिवर्तन स्थगित गरेको उनले बताएका छन् । हुलाक सेवाका निला मेलबक्सहरु हटाएको र पत्र छनौट गर्ने ६७१ वटा मेसिनहरु हटाएको विषयमा समेत उनले प्रश्नको सामना गरिरहेका छन् ।
हुलाक सेवामा आएको ढिलाई कारण देशभरबाट हुलाकमार्फत मगाइने मतपत्र र हुलाकमार्फत पठाइने मतपत्रमा ढिलाई हुनसक्ने आशंका अहिले पनि कायम छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाकमार्फत मतपत्र पठाएर गरिने चुनावको विरोध गर्दै आएका छन् । त्यसैले उनीमाथि हुलाकलाई ढिलो गराउन खोजेको आरोप लगाइएको छ ।
राष्ट्रपति ट्रम्पका नजिकका मानिने लुई डीजोयलाई गत जुनमा अमेरिकन हुलाकको प्रमुखमा नियुक्त गरिएको थियो । त्यसपछि उनले कैयन नीतिमा परिवर्तन ल्याउँदा हुलाक सेवा ढिलो भएको जनाइएको छ ।
पेन्सिलभेनिया र वासिंटन राज्यका एटोर्नी जनरलहरुले हुलाक सेवालाई ढिलो गराउन नीति परिवर्तन गर्ने लुई डीजोयबिरुद्ध मुद्दा दायर गर्ने बताइरँदा उनको भनाई आएको हो । उक्त मुद्दामा कम्तीमा १८ राज्यहरु सामेल छन् । यो मुद्दा भने डीजोएको घोषणाका बाबजुत पनि अगाडि बढाइने भएको छ ।
