राहत प्याकेजबारे कुनै निर्णय विना नै सिनेटको कारवाही सेप्टेम्बर ८ सम्म स्थगित


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

१२ सय डलरको चेक वा काम गुमाएकालाई अतिरिक्त राहत समेटेको कुनै बिल पारित नगरिकनै सिनेटको कामकारवाही सेप्टेम्बर ८ सम्मका लागि स्थगित भएको छ । अब सेप्टेम्बर ८ भन्दा अगाडि कुनै पनि राहत प्याकेज पारित हुने सम्भावना लगभग टरेको छ ।

डेमाक्रेटिक र रिपब्लिकन सांसदहरुबीच राहत प्याकेजमा कुनै सहमति कायम हुन नसकेपछि सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले आगामी सेप्टेम्बर ८ सम्मका लागि सिनेटको कामकारवाही स्थगित गरेका हुन् । यद्यपी उनले कुनै सहमति कायम भएमा सिनेट सुचारु गर्ने समेत बताएका छन् ।

गतसाता सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले झण्डै साढे ३ ट्रिलियनको राहत प्याकेजको साटो झण्डै २ ट्रिलियनको प्याकेजका लागि सहमति जनाएका थिए । रिपब्लिकनहरु एक ट्रिलियन बढ्न तयार रहेमा आफूहरु एक ट्रिलियन घट्न तयार रहेको उनले बताएका थिए ।

तर रिपब्लिकनहरुले उक्त प्रस्ताव पनि अस्वीकार गरेका छन् । जसका कारण मध्यमार्ग खोज्ने प्रयास समेत विफल भएको छ । सहमतिमा पुग्न असफल भएको केही घण्टापछि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेका थिए ।

ह्वाइटहाउटले बुधबार सहमतिका लागि डेमोक्रेटिक नेताहरुलाई सम्पर्क गरेको थियो । तर डेमोक्रेटिक नेताहरुले अस्वीकार गरेका छन् । हाउस स्पीकर न्यान्सी पेलोसीले ह्वाइट हाउस र रिपब्लिकनहरु कम्तीमा २ ट्रिलियनको राहतका लागि तयार नभएसम्म आफूहरु वार्तामा नबस्ने बताएकी छिन् । रिपब्लिकनहरु एक ट्रिलियनकै अडानमा छन् ।

दुबै दलहरु अर्को चरणको १२ सय डलरको चेकमा सहमत भएपनि बेरोजगारी विमा पाइरहेकाहरुलाई अतिरिक्त लगायतका कैयन विषयमा सहमति कायम हुन सकेको छैन । स्थानीय सरकारका लागि डेमोक्र्याटहरु एक ट्रिलियन भन्दा धेरैको राहत चाहन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com