रुसले अमेरिकालाई सोध्यो -‘हामीले बनाएको भ्याक्सिन चाहिन्छ कि ?’ अमेरिकाले भन्यो -‘पर्दैन’


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

रुसले अमरिकालाई आफ्नो देशमा बनाइएको भनिएको भ्याक्सिन सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । तर अमेरिकाले भने रुसको प्रस्ताव अस्वीकार गरेको छ । रुसका अधिकारीहरुले मस्कोमा बोल्दै यसको खुलासा गरेका हुन् ।

अमेरिकाले रुसलाई अविश्वास गर्दै आएकाले भ्याक्सिन लगायतका विषयमा पनि अमेरिकाले अविश्वास गरेका कारण रुसको भ्याक्सिन स्वीकार नगर्ने रुसका अधिकारीले बताएका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरीले रुसको भ्याक्सिनबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बताइएको र तेश्रो चरणको परीक्षणमा रहेको अमेरिकन भ्याक्सिन नै उच्च कोटीको रहेको बताएका छन् ।

रुसले तेश्रो चरणको परीक्षण विना नै भ्याक्सिन सफल भएको भन्दै प्रयोगको अनुमति दिएको थियो । तर आगामी अक्टोबरबाट रुसको भ्याक्सिन फिलिपिन्समा तेश्रो चरणको परीक्षण गरिने भएको छ । तर त्यहाँका राष्ट्रपतिले भने नतिजा सफल नआएसम्म भ्याक्सिन नलगाउने भएका छन् ।

रुसले गत मंगलबार भ्याक्सिन विकाश गरेको घोषणा गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई पनि भ्याक्सिन दिइएको दावी गरेका थिए । परीक्षण पुरा हुन बाँकी रहेकाले विज्ञहरुले रुसको दावीमाथि आशंका गरेका छन् ।

अहिले विश्वभर २० वटा भन्दा धेरै भ्याक्सिनहरु परीक्षणका क्रममा छन् । जसमध्ये अमेरिकाका मोडेर्ना र फाइजरले तेश्रो चरणको परीक्षण सुरु गरिसकेका छन् ।

यसैबीच रुसले आफ्नो देशमा बनाइएको भ्याक्सिनको बारेमा सुचना सार्वजनिक गर्न तयार रहेको बताएको छ । जसले अमेरिकन कम्पनीहरुलाई अमेरिकामा रुसी भ्याक्सिन उत्पादन गर्नका लागि बाटो खोल्नेछ । रुसी भ्याक्सिनबारे अमेरिकका केही कम्पनीहरुले चासो देखाएको रुसले बताएको छ । तर कम्पनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com