न्युयोर्कमा सबैप्रकारका गाडीभित्र सबै यात्रुलाई सिटबेल्ट अनिवार्य


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

न्युयोर्कमा सबैप्रकारका गाडीभित्र १६ बर्ष र त्यो भन्दामाथिका सबै यात्रुहरुले सिटबेल्ट अनिवार्य लगाउनुपर्ने नियममा गभर्नर एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् । अहिलेसम्मको नियम अनुशार न्युयोर्कमा चालक र चालकको छेउँमा बस्नेलेमात्र सिटबेल्ट अनिवार्यरुपमा लगाउनुपर्ने नियम रहेको थियो ।

नयाँ नियम नोभेम्बर १ बाट कार्यान्वयनमा आउनेछ । नयाँ नियमको उल्लंघन गरेमा चालकको छेउँमा बस्नेले सिटबेल्ट नलगाउँदा भोग्ने ट्राफिक कारवाही अनुशार नै कारवाही हुनेछ । नयाँ नियम अनुशार पछाडिको सिटमा बस्नेहरुले पनि अनिवार्य सिटबेल्ट लगाउनुपर्नेछ ।

अमेरिकाका कतिपय राज्यहरुमा अहिले पनि गाडीमा बस्ने हरेक यात्रुले सिटबेल्ट लगाउनुपर्ने नियम रहेको छ । यदि नलगाएको खण्डमा यात्रु वा चालकले जरिवानासहितको टिकट पाउने प्रावधान रहेको छ ।

कुनै समय न्युयोर्कमा अगाडि बस्नेले समेत सिटबेल्ट लगाउन अनिवार्य थिएन । तर सन् १९८४ मा न्युयोर्कले सिट बेल्ट अनिवार्य लगाउनुपर्ने नियम पारित गरेको थियो । त्यतीबेला अहिलेका गभर्नर एन्ड्रयु कुमोका पिता मारियो कुमोले नै यो नियममा हस्ताक्षर गरेका थिए ।

नयाँ नियमले अनावश्यक दुखद घटनाहरु हुनबाट बचाउने गभर्नर एन्ड्रयु कुमोले आशा व्यक्त गरेका छन् । सबै प्रकारका गाडीमा चढ्नेहरुले सिटबेल्ट अनिवार्य लगाउनुपर्ने नियमले कारहरु बाहेक अन्य गाडीहरुलाई समेत यो नियममा बाँध्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com