रुसले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण अक्टोबरदेखि फिलिपिन्समा गरिने
प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार
कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।
चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए ।
फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको भ्याक्सिनको प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी भ्याक्सिन यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएको बताएका थिए । रुसले बनाएको भनिएको भ्याक्सिनले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले भ्याक्सिन किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोडरिगो दुतेर्तेले समेत भ्याक्सिन लगाउने बताइएपनि अहिले भने उनले भ्याक्सिन लगाउने समाचार अस्वीकार गरेका छन् । तेश्रो चरणको परीक्षणबाट भ्याक्सिन सफल भएको प्रमाणित नभएसम्म उनले आफूले भ्याक्सिन नलगाउने भएका छन् ।
अमेरिकन कम्पनी मोडेर्ना र फाइजरले बनाएका भ्याक्सिनहरु जुलाईको अन्तिम साताबाट तेश्रो चरणको परीक्षणमा गइसकेका छन् ।





