शुक्रबारसम्म सहमति नभए आईआरएसले १२ सयको राहत चेक सेप्टेम्बर अगाडि पठाउन नसक्ने
प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार
शुक्रबारसम्म पनि सहमति कायम नभए अमेरिकनहरुले दोश्रो राहत चेक सेप्टेम्बरभन्दा अगाडि पाउने सम्भावना न्यून रहेको छ । प्याकेज पारित भएमा आईआरएसले पहिलेको तुलनामा छिटो चेक पठाउने तयारी गरेपनि सहमति कायम हुननसक्दा कोरोना भाइरस राहत प्याकेज अन्यौलमा रहेको छ ।
डेमोक्रेटिक र रिपब्लिकन सांसदहरु दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउनमा सहमत भएपनि प्याकेजमा अरु विषयमा कुरा नमिलेपछि अहिलेसम्म सहमति कायम हुन सकेको छैन । विशेषत काम गुमाएकाहरुलाई संघीय सरकारबाट प्रदान गरिने रकमका बारेमा सहमति कायम नभएका कारण प्याकेजमा सहमति अगाडि बढेको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर दिने घोषणा त गरेका छन् तर त्यसको बजेट ४४ बिलियनमात्र रहेकाले उक्त रकम चारदेखि ५ सातामा नै समाप्त हुने देखिएको छ । अर्कातर्फ फरक प्रणालीबाट रकम पठाउनुपर्ने भएकाले राज्यहरुलाई नयाँ प्रणाली सेटअप गर्न समेत समय लागेको छ ।
१२ सय डलरको राहत चेकबारे शुक्रबारसम्म सहमति कायम नभए सेप्टेम्बर अगाडि रकम पठाउन सम्भव नहुने आईआरएस श्रोतले बताएको हो । संसदको तय भएको विदा अगस्त १० देखि सुरु भइसकेको छ भने सेप्टेम्बर ८ सम्म कायम रहेनछ । कैयन सांसदहरु राज्यहरुमा समेत फर्किसकेका छन् ।
तर सहमति कायम भएमा विदाको समयमा पनि संसद चल्नसक्ने बताइएको छ । तत्काल सहमति कायम नभएको खण्डमा सेप्टेम्बर ८ पछिमात्र बिल पारित हुने सम्भावना रहनेछ ।





