भ्याक्सिनको लागि हतार गर्दा के भएको थियो १९७६ मा ?


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

अहिले कोरोनाबिरुद्धको भ्याक्सिनको उत्पादनको होडबाजी चलिरहेको छ । भ्याक्सिन उत्पादनमा को अगाडि हुने भन्ने होडबाजी समेत देखिएको छ । रसियाले त बृहत क्लीनिकल परीक्षण विना नै भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ ।

सन् १९७६ मा यस्तै हतारमा भ्याक्सिन जारी गरिएको थियो, जुन पछि पूर्णरुपमा असफल भएका कारण रोक्नुपर्ने अवस्था आएको थियो । त्यतीबेला अमेरिकाका राष्ट्रपति थिए, जेराल्ड फोर्ड । उक्त बर्षको सुरुतिर न्युजर्सीमा रहस्यमय स्वाइन फ्लुको नयाँ संक्रमण देखा परेको थियो ।

संक्रमणबाट सुरुमा एकजनाको मृत्यु भयो भने कैयन बिरामी भए । मुलुकका उच्च संक्रमण रोग विशेषज्ञहरु आत्तिए । १९१८ को फ्लु विश्वले भोगिसकेका कारण मान्छेहरु आत्तिएका थिए । त्यसपछि राष्ट्रपतिले पोलियो भ्याक्सिनका लागि काम गरेका वैज्ञानिकसँग सरसल्लाह गरे । मार्चको अन्तिमतिर उनले भ्याक्सिन उत्पादन र वितरणको योजना घोषणा गरे ।

यथाशक्य भ्याक्सिन उत्पादन गरेर हरेक अमेरिकनलाई भ्याक्सिन दिने घोषणा गरियो । किनभने स्वाइन फ्लुको नयाँ स्वरुपले कस्तो खालको महामारीको रुप लिने हो भन्नेबारेमा अन्यौल थियो । भ्याक्सिनबारे दु्रत गतिमा काम भइरहेको थियो । सन् १९७६ को जुनमा एउटा भ्याक्सिन उत्पादक कम्पनीले २ मिलियन डोज उत्पादन गर्यो । तर पछि यो गलत स्ट्रेनको प्रयोग गरेर उत्पादन गरिएको पुष्टी भयो ।

राष्ट्रपति फोर्डले भ्याक्सिन कार्यक्रम निरन्रता दिन घोषणा गरे । बर्षा ऋतुसम्म हरेक दिन एक मिलियनलाई भ्याक्सिन दिने योजनाका साथ काम सुरु गरियो । मध्य अक्टोबरसम्म भ्याक्सिन लगाउने काम जारी थियो । राष्ट्रपति फोर्डले पनि ह्वाइटहाउसका डाक्टरबाट भ्याक्सिन लगाए ।

तर लगत्तै समस्याहरु बढ्न थाले । भ्याक्सिनकै कारण कैयनको मृत्यु भएका खबरहरु आउन थाले । गुइलेन बर्रे सिन्ड्रोमहरु पनि देखिन थाले । तनावको वातारण श्रृजना भएपछि कैयन राज्यहरुले भ्याक्सिनको कार्यक्रम नै स्थगित गर्नुपरेको थियो ।

डिसेम्बरसम्म भ्याक्सिनका कारण ९४ जनालाई प्यारालाइसिस भयो । त्यसपछि भ्याक्सिनको सम्पूर्ण कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । डाक्टर र राजनीतिज्ञहरुबीच आरोप प्रत्यारोप सुरु भयो । फोर्डले आफ्नो राजनीतिक फाइदाका लागि लापरवाहीपूर्ण काम गरेको आरोप लगाइयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com