अतिरिक्त साप्ताहिक ४ सयका लागि अझै २ साता लाग्नसक्ने, बजेट अगस्तमै सकिने


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ४ सय डलर प्राप्त गर्न अझै २ सातासम्म लाग्नसक्ने ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले बताएका छन् । कहिलेदेखि यो रकम वितरण गर्नसकिने भन्नेबारे ट्रम्पप्रशासनले टाइमलाइन दिन नसकिरहेको अवस्थामा अधिकांश राज्यहरुले दुईसाताभित्रमा यो रकम वितरण सुरु गर्नसक्ने मन्चिनले बताएका छन् ।

काम गुमाएका योग्यहरुले अगस्त १ मा समाप्त हुने साताबाटै रकम प्राप्त गर्नेछन् । बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता अन्तरगत कम्तीमा साप्ताहिक १ सय डलर पाइरहेकाहरुले अतिरिक्त ४ सय डलर प्राप्त गर्नसक्नेछन् । तर एकसय डलरभन्दा कम पाइरहेका पार्टटाइम कामदारहरुले भने यो सुविधा नपाउने देखिएको छ ।

झण्डै ३० मिलियन व्यक्तिले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम पाइसकेकाले संघीय कोषबाट छुट्याइएको ४४ बिलियन डलर अगस्तमै सकिने देखिएको छ । किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा ४४ बिलियन डलर बाँकी रहँदासम्ममात्र यो रकम प्राप्त हुने उल्लेख गरिएको छ ।

कार्यकारी आदेशमा सरकारी कोषको ४४ बिलियन डलर नसकिंदासम्म वा डिसेम्बर ६ सम्म काम गुमाएकालाई अतिरिक्त ४ सय डलर दिइने भनिएको छ । तर झण्डै ३० मिलियन काम गुमाएकाहरुले उक्त रकम लिंदा झण्डै ५ हप्तामा समाप्त हुन्छ । ४४ बिलियन समाप्त नभए डिसेम्बर ६ सम्म र कोष सकिएमा सकिएकै मितिबाट साप्ताहिक ४ सय डलर प्राप्त हुन छाड्ने प्रावधान रहेकाले यो रकम चारसातापनि प्राप्त हुने मुस्किल हुने अवस्था आएको छ ।

ट्रम्पले कार्यकारी आदेशमा उल्लेख गरेजस्तो संघीय सरकारले ३ सय डलरले राज्य सरकारले १ सय डलर बेहोर्दा पनि यो रकम झण्डै ५ हप्तामा समाप्त हुन्छ । अझ ट्रम्पले पछिल्लो पटक भनेजस्तो सबै ४ सय डलर संघीय सरकारले नै बेहोरेको खण्डमा समेत यो रकम अहिलेको अवस्थामा ४ हप्ताको लागि समेत अपुग हुन्छ ।

यसैबीच अमेरिकामा काम गुमाएकाहरुलाई अतिरिक्त ४ सय डलर दिने कार्यकारी आदेश कार्यान्वयनका लागि राज्यका गभर्नरहरुलाई निर्देशन दिइएको छ । राज्यका अवस्थीत प्रणालीहरुका साथसाथमा साप्ताहिक ४ सय प्रदान गर्ने प्रणाली समेत सेटअप गर्न निर्देशन दिइएको हो ।

कम्तीमा १ सय डलर बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुलेमात्र अतिरिक्त ४ सय डलर पाउने भएकाले राज्यका सरकारले यो रकम वितरणका लागि भूईतहबाटै कामको सुरुवात गर्नुपर्ने भएको छ ।

ट्रम्पले साप्ताहिक ४ सय डलर दु्रतगतिमा वितरण गरिने बताएका छन् । तर ट्रम्पले दिने भनेको साप्ताहिक ४ सय डलर परम्परागत बेरोजगारी प्रणालीभन्दा बाहिरको गुमेको ज्याला सहायता कार्यक्रम रहेको छ ।

ट्रम्पले संसदलाई बाइपास गरेर आफ्नै आर्थिक राहतको मापदण्ड लागु गर्नका लागि शनिबार कार्यकारी आदेश जारी गरेका थिए । शुक्रबारसम्म पनि डेमोक्रेटिक सांसद र ह्वाइटहाउसबीच कुनै सहमति कायम हुन नसकेपछि ट्रम्पले कार्यकारी आदेश जारी गरेका थिए ।

राज्यहरुले बेरोजगारी विमा रकम प्रदान गर्दा बेरोजगारी विमा सहायताको संघीय कानुन अनुशार वितरण गर्नुपर्ने हुन्छ । तर ट्रम्पले कार्यकारी आदेशमार्फत दिने भनेको रकम बेरोजगारी विमा अन्तरगत नपर्ने बरु गुमेको ज्याला सहायता कार्यक्रम भएकाले यसलाई बेरोजगारी विमाकै रकमको शैलीमा पठाउन नसकिनेबारे छलफल भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com