कोरोना केयर सेन्टरका रुपमा प्रयोग गरिएको आन्ध्र प्रदेशको एक होटेलमा आगलागी, ७ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको एक होटेलमा आगलागी भएको छ । स्वर्ण प्यालेस नामको यो होटेललाई कोरोना केयर सेन्टरका रुपमा प्रयोग गरिएको थियो ।

कोभिड-१९ का संक्रमितलाई राख्‍नका लागि एक निजी अस्पतालले यो होटेललाई प्रयोग गरिरहेको थियो । आन्ध्र प्रदेशका गृह राज्यमन्‍त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट हुँदा होटेलमा आगलागी भएको हो ।

साथै आन्‍ध्र प्रदेश सरकारका सल्लाहकार एस. राजीव कृष्णाले ट्‍विटमार्फत मुख्यमन्‍त्रीले आगलागीबाट प्रभावितको उपचारका लागि सहयोग गर्ने वचन दिएको जनाएका छन् ।

विजयवाडा प्रहरी कमिस्‍नरले अग्‍नि नियन्‍त्रक विभागलाई उद्धृत गर्दै होटेलमा भएको आगलागीमा परि सातजनाको मृत्यु भएको जानकारी दिएका छन् । विजयवाडा प्रहरी विभागका अनुसार आगलागीका समयमा होटेलमा ५० जना थिए । आगलागीबाट बच्‍नका लागि चारजना होटेलको माथिल्लो तलाबाट हामफालेका थिए । यद्यपि यी चारजनाबारे अझै जानकारी नपाइएको बीबीसीले समाचारमा जनाएको छ ।

 

 

आगलागीमा परि घाइतेहरुलाई उपचारका लागि नजिककै रहेको रमेश अस्पतालमा भर्ना गरिएको छ । केही दिनअघि मात्र रमेश अस्पतालले यो होटललाई कोरोना संक्रमितको उपचारका लागि भाडामा लिएर प्रयोग गरिरहेको छ । आन्ध्र प्रदेश सरकारले आगलागीको कारणबारे जाँच गर्न निर्देशन दिएको छ । यसको जाँचको अध्यक्षता भने जिल्लाका प्रमुखले गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com