कार्यकारी आदेशमार्फत योबर्षभर नै बेरोजगारी विमाको अतिरिक्त रकम बढाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत यो बर्षभर नै बेरोजगारी विमाको रकम बढाउने बताएका छन् । काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधिका विषयमा डेमाक्रेटिक सांसदहरुसँग कुरा नमिलेको बेलामा ट्रम्पको यो भनाई आएको हो ।

शुक्रबार राती न्युजर्सीको क्लबमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले पेरोल ट्याक्स, भाडा नतिरेकाहरुलाई घरबाट निकाल्नबाट रोक, काम गुमाएकालाई संघीय सरकारले दिदै आएको अतिरिक्त रकमको निरन्तरता लगायतका विषयमा कार्यकारी आदेश जारी गर्ने बताए । त्यस्तै विद्यार्थीको ऋण तिर्ने अवधि पछि सार्ने विषयलाई पनि समेट्ने उनको भनाई छ ।

पेरोल ट्याक्स तिर्ने अवधि पछि सार्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले यो साताको अन्त्यसम्ममा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । अहिले कानुनविदहरुले कार्यकारी आदेशको भाषा तयार गरिरहेको उनले खुलासा गरे ।

ट्रम्पले जुलाई महिनामा अमेरिकामा थपिएको जागिर ऐतिहासिक भएको भन्दै पत्रकारसम्मेलनको सुरुवात गरेका थिए । अमेरिकामा जुलाईमामात्र १८ लाख जागिर थपिएका छन् ।

शुक्रबारमात्र ह्वाइटहाउसका वार्ताकारसँग हाउस स्पीकार न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरबीचको वार्ता निष्कष्र्काविहिन भएको थियो । लगत्तै ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले ट्रम्पलाई कार्यकारी आदेश जारी गर्न सुझाव दिएका थिए । आगामी राहत प्याकेज साढे ३ ट्रिलियन बनाउने डेमोक्रेटिक सांसदको प्रस्ताव र एक ट्रिलियनको हाराहारीमा बनाउने ह्वाइट हाउसको प्रस्तावबीच कुरा नमिलेपछि वार्ता निष्कर्षविहिन भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com