६ सयमै अल्झियो कुरा, सहमति नभए ट्रम्पले कार्यकारी आदेश जारी गर्ने


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

कोरोनाको राहत प्याकेजमा डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुबीच अझै सहमति कायम हुन सकेको छैन । बेरोजगारी विमा र महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलरको विषयमा अझै पनि गाँठो फुकेको छैन ।

यसैबीच ह्वाइट हाउसले एक ट्वीट गर्दै डेमोक्र्याट्सहरु सहमतिमा नआए राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई आर्थिक राहतका लागि कार्यकारी आदेश जारी गर्ने बताएको छ । राष्ट्रपति ट्रम्पले पनि शुक्रबारसम्म सहमति कायम नभए कार्यकारी आदेश जारी गर्ने बताइसकेका छन् ।

रिपब्लिकन नेताहरुले ह्वाइट हाउसले मानेको खण्डमा आफूहरु साप्ताहिक ६ सयको सुविधा लम्बाउन तयार रहेको बताएका छन् । तर ह्वाइट हाउसले भने साप्ताहिक ६ सयको साटो ४ सयको प्रस्ताव अगाडि ल्याएको छ । डेमोक्रेटिक सांसदहरुले साप्ताहिक ६ सयलाई नै लम्बाउनुपर्ने तर बेरोजगारी दर घटेमा यो रकम घटाउँदै लैजान सकिने बताएका छन् ।

खासगरी पेरोल ट्याक्समा कटौती र घर निकाला रोक्नका लागि ट्रम्प कार्यकारी आदेश जारी गर्न चाहन्छन् । ट्रम्पले चाहेको पेरोल ट्याक्समा कटौतीको विषयलाई रिपब्लिकन बिलमा समेत समेटिएको छैन ।

रिपब्लिकन, डेमोक्रेटिक सांसदहरु र ह्वाइट हाउस सहमतिको नजिक पुगेको बताइएपनि अहिलेसम्म कुनै अन्तिम सहमति कायम हुन सकेको छैन । डेमोक्रेटिक सांसदहरु राहत प्याकेज ३ ट्रिलियन डलरसम्म बनाउन चाहन्छन् । तर रिपब्लिकनहरु १ ट्रिलियनको हाराहारीमा नै कायम राख्न चाहन्छन् ।

काम गुमाएकाहरुले अतिरिक्त पाउँदै आएको ६ सय डलरको म्याद समाप्त भइसकेको छ । कम्तीमा एकसाताका लागि भएपनि ६ सय डलरको म्याद थपेर सहमति खोज्नका लागि रिपब्लिकनहरुले गरेको प्रयास पनि असफल भइसकेको छ ।

हाउस सहमति कायम नगरेसम्म विदामा नबस्ने योजनामा रहेको छ । सिनेटपनि प्योकजपारित गरेरमात्र विदामा बस्ने योजनामा छ । दुबै पक्षहरु भोलि शुक्रबारसम्म कुनै सहमति कायम हुने आशामा रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com