गरिब देशहरुलाई भ्याक्सिन उपलब्ध गराउन सहयोग गर्न अमेरिकालाई बिल गेट्सको आग्रह


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

विश्वका धनाढ्य तथा समाजसेवी बिल गेट्सले गरिब देशहरुले पनि भ्याक्सिन पाउने वातावरण बनाउन अमेरिकालाई आग्रह गरेका छन् । भ्याक्सिनको निर्माण र शोधमा कुनै देशले नेतृत्व गर्दैमा आफ्नोबारेमा मात्र सोंच्न नहुने उनले बताएका छन् ।

कम विकशित देशहरुलाई भ्याक्सिन उपलब्ध गराउनका लागि राहत प्याकेजमा ८ बिलियन डलर थप गर्न बिल गेट्सले अमेरिकी सांसदहरुलाई समेत आग्रह गरेका छन् । धनी देशहरुमामात्र नभई सबै देशबाट कोरोनाको महामारी अन्त्य गर्ने कुराको सुनिश्चितता हुनुपर्ने उनको भनाई छ ।

बिल गेट्सको फाउण्डेशनले कोरोना भ्याक्सिनको शोधका लागि ३५० मिलियन डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । जुन रकमको मुख्य अंश विश्वब्यापी रुपमा भ्याक्सिन वितरणका लागि सघाउन क्षमता बृद्धिका लागि समेत गएको छ । उनको फाउण्डेशनले आष्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र नोभाभ्याक्सलाई भ्याक्सिन निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

विश्वभर झण्डै दुई दर्जन भ्याक्सिनको मान्छेमा परीक्षण भइरहेको छ, जसमध्ये अमेरिकाका भ्याक्सिन उत्पादनकहरु मोडेर्ना र फाइजरले तेश्रो चरणको परीक्षण तीस तीस हजारमा सुरु गरिसकेका छन् । फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन निर्माण गरिरहेको छ ।

बिल गेट्सले भ्याक्सिन सन् २०२१ को सुरुमा स्वीकृत भएर आम प्रयोगका लागि आउने विश्वास व्यक्त गरेका छन् । तर उनले त्यस्ता भ्याक्सिन सुरुमा धनी देशमामात्र उपलब्ध हुने आशंका व्यक्त गरेका छन् ।

अमेरिकाले मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, आष्ट्राजेनेका लगायतका कम्पनीसँग ५ सय मिलियन भन्दा धेरै भ्याक्सिनका डोजहरु बुक गरिसकेको छ । अमेरिकामा छिटोमा अक्टोबरमा भ्याक्सिनको आपतकालिन प्रयोगको स्वीकृति प्राप्त हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com