ब्रिटिश आर्मीको भर्ती खुल्यो


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

बेलायती सेनाको लागि नेपालमा भर्ती खुला गरिएको छ । कोभिड १९ महामारीका कारण यसपटक सधैंजस्तो आवेदन खुला नगरेर गत वर्ष अन्तिम चरणमा पुगेर बाहिरिनेहरुलाई मात्र अवसर दिइने भएको छ ।

ब्रिटिस आर्मी मुख्यालयले ‘रिक्रुट इन्टेक २०२१’ अन्तर्गत ४ सय ३२ जनाको लागि बेलायती सेनामा भर्ती खुलाएको हो । सिंगापुर पुलिसमा समेत १ सय २० जना छनोट गरिनेछ ।

ब्रिटिस आर्मी मुख्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत भर्तीको सूचना सार्वजनिक गरेको छ । गत वर्षको अन्तिम छनोटबाट बाहिरिएकाहरूलाई सम्पर्कमा रहन भनिएको छ ।

विगतका वर्षहरुमा ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । यसरी छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्थ्यो । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएकालाई मात्र अवसर दिइएको हो ।

पोखरामा हुने केन्द्रीय छनोटमा शारीरिक छनोटमा २ हजार मिटर दौड, १५ किलोको डोको बोकाइ, २० किलोको बोरा उचालेर बोक्ने, ४ किलोको मेडिसिन बल थ्रो (फ्ँयाक्ने) लगायत हुन्छन् । शैक्षिक छनोटमा अंग्रेजी भाषातर्फ सुनाइ, बोलाइ, लेखाइ, पढाइ, गणित (हिसाब), मेडिकल टेस्ट र अन्तिम अन्तर्वार्ता रहन्छ।

‘इन्टेक–२०२०’ मा प्रतिस्पर्धीमध्ये अन्तिम चरणबाट करिब २ हजार ५ सय जना बाहिरिएको अनुमान ग छ । त्यसमध्ये एनआरए (नो री–एप्लाई/पुन: आवेदन दिन नपाउनेमा) परेकाहरु भर्ती हुन पाउनेमा पर्ने छैनन् ।

मेडिकल टर्म, अनुशासन, कागजात जस्ता कारणले अन्तिम छनोटबाटै बाहिरिएका भए पनि फेरि भिड्न पाउँदैनन् ।

पछिल्लो समय बेलायतले ब्रिटिस सेनामा नेपालबाट भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती लिने गरेकोमा गत वर्षबाट ४ सय ३२ जना भर्ती लिन थालिएको छ । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गोर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् ।

सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमश: नेपालबाट भर्ती संख्या बढाउन थालेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com