१२ सय डलरको चेक र पीपीपीमा मिल्यो कुरा, साप्ताहिक ६ सयमा उल्झन


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

डेमोक्रेटिक सांसदहरु र ह्वाइट हाउसबीच दोश्रो चरणको १२ सय डलरको राहत चेक पठाउने सन्दर्भमा कुरा मिलेको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले पेचेक प्रोटेक्सन प्रोग्राम र १२ सय डलर राहत चेकमा कुरा मिलिसकेको बताएका छन् ।

शनिबार भएको छलफल निकै उत्पादक भएको बताइएको थियो । तर अन्तिम सहमति भने कायम हुन सकेको थिएन । अहिले मुख्य गाँठो साप्ताहिक ६ सय डलरको बेरोजगारी बोनस रकमका सन्दर्भमा परेको छ ।

साप्ताहिक ६ सय डलर बोनस रकम गत शुक्रबार समाप्त भइसकेको छ । विगतको केयर्स एक्टले गरेको यो व्यवस्था अनुशार ३० मिलियन भन्दा बढीलाई जुलाई ३१ सम्म साप्ताहिक ६ सय डलर पठाइसकिएको छ । रिपब्लिकनहरुले अस्थायी रुपमा एकसाताका लागि रकम लम्बाउने प्रस्ताव गरेकोमा डेमोक्र्याट्सहरुले अस्वीकार गरेका छन् ।

रिपब्लिकनहरुले ल्याएको हिल्स एक्टमा साप्ताहिक ६ सय डलरलाई घटाएर अधिकतम २ सय डलर पाउने व्यवस्था गरिएको छ । त्यसमा पनि कामदारले गुमाएको ज्यालाको प्रतिशत हिसाब गरेर बोनस रकम दिने व्यवस्था गरिएको छ । यस्तो प्रावधान ल्याएकोमा डेमोक्र्याट्सहरु आक्रोशित भएका छन् ।

राहत प्याकेजमा टुंगो नलागेसम्म हाउस छुट्टीमा नजाने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलर अपरिहार्य रहेको बताएकी छिन् । तर ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले भने कामदारहरुले विगतमा कामबाट पाएको भन्दा पनि बढी रकम पाएकाले आफूहरुलाई त्यसलाई सुधार्न चाहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com