फ्लोरिडातिर अगाडि बढ्दै हरिकेन इसाइयस, संकटकालको घोषणा


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

तीब्र गतिको आँधीबेहरी हरिकेन इसाइयस कोरोनाको महामारीबाट आक्रान्त बनेको फ्लोरिडा तर्फ अगाडि बढेको छ । ८० माइल प्रतिघण्टाको गतिमा रहेको आँधीले एकसय माइल प्रतिघण्टाको गति लिएको जनाइएको छ ।

आँधी तुफानका साथमा बर्षा र बाढीको समेत सम्भावना रहेकाले फ्लोरिडामा संकटकालको घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका गभर्नरले घोषणा गरेको संकटकाललाई स्वीकृति प्रदान गरेका छन् । शनिबार ८० माइल प्रतिघण्टाको गतिमा बहामसतिर अगाडि बढेको आँधी आइतबार फ्लोरिडामा प्रवेश गर्ने मौषमविदहरुले चेतावनी दिएका छन् ।

आँधीबेहरी फ्लोरिडातिर अगाडि बढेपछि बेरियर आइल्याण्ड अस्पतालबाट कोरोनाका बिरामीहरु अन्यन्त्रै सारेर अस्पताल खाली गरिएको छ । हरिकेन इसाइयसका कारण बहामासमा कडाखालको हुरीबतास र वर्षा भएको छ । आइतबार विहान फ्लोरिडाको वेष्ट पाल्म बीचमा ८३ माइल प्रतिघण्टाको गतिमा आँधी आउने बताइएको छ ।

आँधी शनिबार बेलुका नै फ्लोरिडामा प्रवेश गर्ने अनुमान गरिएको छ । फ्लोरिडाका गभर्नरले त्यहाँका बासिन्दाहरुलाई कम्तीमा ७ दिनसम्मका लागि पानी, औषधी, मास्क र सेनिटाइजरहरुको जोहो गर्न सुझाव दिएका छन् । राज्यबाट संचालित कैयन कोरोना परीक्षणस्थलहरु बन्द गरिएका छन् ।

अमेरिकामा क्यालिफोर्नियापछि सबैभन्दा धेरै कोरोना संक्रमितहरुको संख्या फ्लोरिडामा रहेको छ । शनिबारसम्म फ्लोरिडामा कोरोना संक्रमितको संख्या साढे ४ लाख नाघिसकेको छ । क्यालिफोर्नियामा भने संक्रमितको संख्या ५ लाख नाघिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com