४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्यले तिरिदिने कार्यक्रमको आवेदन डेडलाइन समाप्त


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने कार्यक्रमका लागि आवेदनको डेडलाइन आज समाप्त भएको छ । कार्यक्रममा सहभागिताका लागि आवेदकहरुमा रहेको अन्यौलकाबीच दुईसाताको आवेदन डेडलाइन समाप्त भएको हो ।

न्युयोर्क राज्यको भाडा सहायता कार्यक्रम अन्तरगत कोरोनाको महामारीबाट प्रभावितहरुका लागि यो कार्यक्रम ल्याइएको हो ।

कोरोनाको महामारीपछि आम्दानी गुमाएका भाडावालहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् भने यो कार्यक्रम अन्तरगत योग्य भाडावाललाई एकपटकको रेन्टल सब्सीडी प्रदान गरिनेछ । उक्त रकम सिधै घरवेटीलाई पठाइने छ भने उक्त रकम आवेदकले राज्य सरकारलाई पुन तिर्नु नपर्ने जनाइएको छ ।

यो कार्यक्रम न्युयोर्क राज्यको होम्स एण्ड कम्यनिटी रिन्युवलले ल्याएको हो ।

यो कार्यक्रमका लागि योग्य हुनका लागि मार्च १ भन्दा पहिले र आवेदन दिने बेलामा घरको आम्दानी उक्त क्षेत्रको औषत परिवारको आम्दानी भन्दा ८० प्रतिशत कम हुनुपर्छ र आम्दानीको ३० प्रतिशतभन्दा धेरै भाडामा तिरेको हुनुपर्छ ।

उदाहरणका लागि यदि तपाई क्वीन्समा बस्नुहुन्छ भने एकजनाको परिवारका लागि बार्षिक आम्दानी ६३ हजार ७ सयभन्दा कम, दुईजनाको परिवारका लागि बार्षिक आम्दानी ७२ हजार ८ सयभन्दा कम, तीनजनाको परिवारका लागि बार्षिक आम्दानी ८१ हजार ९ सयभन्दा कम, ४ जनाको परिवारका लागि बार्षिक आम्दानी ९० हजार ९ सय ५० भन्दा कम, ५ जनाको परिवारका लागि बार्षिक आम्दानी ९८ हजार २ सय ५० भन्दा कम छ भने तपाई यो कार्यक्रमका लागि योग्य हुनसक्नुहुनेछ ।

आवेदन दिनका लागि घरको मध्ये कोही सदस्य अमेरिकी नागरिक वा योग्य आप्रवासी स्टाटसमा भएको हुनुपर्छ । मिश्रित स्टाटस भएको व्यक्ति समेत योग्य हुनसक्छन् । उदाहरणका लागि कसैको घरमा अमेरिकामा जन्मेको बच्चा छ भने त्यस्तो परिवारले आवेदन दिनसक्ने प्रावधान थियो । न्युयोर्कको आईडीएनवाईसीलाई समेत परिचयपत्रका रुपमा स्वीकार गरिने, परिवारले अप्रिल १ देखि जुलाई ३१ को अवधिमा आम्दानी गुमाएको हुनुपर्ने प्रावधान थियो ।

आवेदन स्वीकृत भएमा भाडाको रकम सिधै घरवेटीलाई पठाइनेछ भने मार्च १ देखि यता घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम र आवेदन दिनेबेलामा घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम सहायताका रुपमा उपलब्ध गराइनेछ । आवेदकले अप्रिलदेखि जुलाईसम्म ४ महिनासम्मको भाडामा सहायताका लागि आवेदन दिनसक्ने प्रावधान रहेको थियो ।

आवेदन दिनका लागि लिजको कागजपत्र हुन आवश्यक छैन । यो कार्यक्रमका लागि योग्य हुनका लागि भाडा नतिरेको व्यक्ति हुन जरुरी छैन । विगतका महिनाको भाडा तिरसकेको व्यक्ति भएपनि उक्त व्यक्तिका लागि उक्त रकम भविश्यको भाडाको क्रेडिट स्वरुप प्राप्त हुनेछ । अपार्टमेन्टमा बस्ने, एकल परिवारवाला घरमा बस्ने लगायतका व्यक्ति कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो कार्यक्रम पहिले आवेदन दिनेलाई पहिले सुविधा दिने प्रकारको नभएको जनाइएको छ । तर कम आम्दानी हुने र बढी भाडा तिर्नुपर्ने परिवारलाई प्राथमिकता दिने होम्स एण्ड कम्यनिटी रिन्युवलले जनाएको छ । आवेदन दिइसकेपछि योग्य भएनभएको बारे र घरवेटीलाई रकम पठाइएकोबारे आवेदकलाई सुचना पठाइने जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com