गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ ।

देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले बताएका सेल्सबरी जर्नलले जनाएको छ ।

उनका अनुसार पछिल्लोपटक अर्थमन्त्री ॠषि सुनाकले  अल्पसंख्यक समुदायका ऐतिहासिक पात्रहरुको तस्विर राखेर सिक्का निश्कासन गर्ने तयारीलाई अघि बढाएका हुन् । मन्त्री सुनाककै निर्देशनमा अहिले उक्त सिक्काको डिजाइन र ती सिक्कामा तस्विर राखिने अनुहारहरुको छनोटको प्रकृयामा रहेको ट्रेजरी मिनिस्टर ग्लेनले जानकारी दिए ।

सिक्कामा तस्विर समावेश गर्ने सम्भावित व्यक्तित्वहरुको सूचीमा गोर्खाहरु पनि छन् । बेलायती सेनामा अद्वितीय योगदानबापत् यहाँको प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पदक विजेता गोर्खालाई सूचीमा राखिएको बताइएको छ ।

बेलायतको इतिहासमा अहिलेसम्म श्वेत बेलायती बाहेकको अन्य कुनै समुदायका सदस्यका तस्विर पाउन्ड स्टर्लिङको सिक्कामा समावेश भएका छैनन् । समावेशिताको नयाँ इतिहास रच्न भन्दै केही दबाब समूहबाट सरकारलाई निरन्तर दबाब दिइंदै आएको थियो ।

यसअघि पनि मन्त्री सुनाकले बेलायतका अश्वेत र अल्पसंख्यक समुदायको प्रोत्साहन र विकासका लागि आफ्नो प्रतिबद्धता जनाएका थिए । ब्रिटिश एशियन समुदायको सदस्यको नाताले आफैंले पनि बेलायतमा जातीय भेदभावको समस्या बुझेको भन्दै उनले सबै समुदायले समान महसुस गर्न सक्ने वातावरण बनाउन आफ्नो भूमिका रहने बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com