गत महिना ५९ चाइनिज एपमा प्रतिबन्ध लगाएको भारतबाट थप ४७ एपमा प्रतिबन्ध


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

गत महिना टिकटकसहित ५९ चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको भारतले थप ४७ वटा चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको छ भने अरु २७५ भन्दा धेरै एप्लीकेशनहरुलाई पुनरावलोकन गरिरहेको छ । गत जुन २९ मा भारतले बहुचर्चित भिडियो शेयरिङ एप्लीकेशन टिकटकसहित ५९ एप्लीकेशनलाई प्रतिबन्ध लगाएको थियो ।

टिकटक लाइट लगायतका ४७ एप्लीकेशनमाथि नयाँ प्रतिबन्ध लगाएको र डाटा सम्प्रभुताका लागि चाइनिज एप्लीकेशनहरुमाथि प्रतिबन्ध लगाएको भारतले जनाएको छ । प्रतिबन्ध लगाइएका नयाँ एप्लीकेशनहरुमा शेयर इट लाइट, हेलो लाइट, बिगो लाइभ लाइट लगायत रहेका छन् ।

भारत टिकटकका मुख्य प्रयोगकर्ताहरुको भएको मध्येको एउटा देश हो । अप्रिलमामात्र टिकटक विश्वभर २ बिलियनले डाउनलोड गरेका थिए । जसमध्ये झण्डै एकतिहाई प्रयोगकर्ताहरु भारतका रहेका थिए । भारतका ६ सय ११ मिलियनले टिकटक डाउनलोड गरेका थिए ।

भारतले पब्जी लगायतका २७५ थप एप्लीकेशनहरुमाथि प्रतिबन्धबारे विचार गरिरहेको इकोनोमिक टाइम्सले जनाएको छ । भारत र चीनबीचको लद्दाख विवादपछि भारतले चाइनिज एपहरुमाथि प्रतिबन्ध लगाउन सुरु गरेको हो ।

टिकटकको बिरुद्धमा रहेको देश भारतमात्र होइन । पाकिस्तानले पनि टिकटकलाई अन्तिम चेतावनी दिइसकेको छ । महिनाको सुरुतिर पाकिस्तानले पब्जीमाथि अस्थायी प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले पनि टिकटकमाथि प्रतिबन्ध लगाउन विचार गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com