दोश्रो पटक १२ सय डलर र जनवरीसम्म साप्ताहिक ६ सय दिने डेमोक्रेटिक बिल सार्वजनिक
प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार
अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रोपटक सबै करदाता र नन फाइलर्सहरुलाई १२ सय डलर दिने बिल डेमोक्र्याटहरुले सार्वजनिक गरेका छन् । १८ सय पृष्ठभन्दा लामो उक्त बिलमा काम गुमाएकाहरुलाई संघीय सरकारबाट जनवरीसम्म नै साप्ताहिक ६ सय डलर दिने उल्लेख छ ।
प्रतिनिधिसभाका डेमाक्रेटिक सांसदहरुले ल्याएको उक्त बिलमा शुक्रबार मतदान हुने अपेक्षा गरिएको छ । आज यो बिलमा थप छलफल गर्ने योजना स्पीकर न्यान्सी पेलोसीले बनाएकी छिन् । यो बिल ३ ट्रिलियन डलरको रहेको छ ।
१ ट्रिलियन डलर राज्य र स्थानीय सरकारहरुलाई उपलब्ध गराउने, प्रतिव्यक्ति १२ सय र परिवारलाई ६ हजार डलरसम्म पाउनेगरी दोश्रो चरणको राहत रकम करदाताको खातामा पठाउने, अत्यावश्यक कामदारका लागि २०० बिलियन डलर उपलब्ध गराउने, ७५ बिलियन कोरोना भाइरसको टेस्टमा उपलब्ध गराउने लगायतका विषयहरु बिलमा समावेश गरिएको छ ।
त्यस्तै कोरोनाको महामारीका कारण काम गुमाएहरुले संघीय सरकारबाट जुलाई ३१ सम्ममात्र साप्ताहिक ६ सय डलर पाउने वर्तमान व्यवस्था रहेकोमा त्यसलाई जनवरीसम्म लम्बाउने पनि बिलमा उल्लेख छ । भाडा, मोर्गेट र युटिलिटीमा सहायताका लागि ७५ बिलियन छुट्याउने पनि बिलमा उल्लेख गरिएको छ ।

यदि यो बिल हाउसबाट पारित भएमा सिनेटमा रिपब्लिकनबाट अवरोध हुनसक्ने आकलन गरिएको छ । अहिलेसम्म डेमोक्र्याट र रिपब्लिकन दुबै थप राहतका लागि एकजुट हुनसक्नेबारे केही स्पष्ट छैन । सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले आफूले ह्वाइटहाउसँग सल्लाह गरिरहेको र अगाडि बढ्ने भएमा दुईदलीय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।






