दूतावास अगाडि प्रदर्शन गर्ने, ३३ विद्यार्थी पक्राउ


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ ।

त्यही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंँलगायत पक्राउ परेका हुन् । नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षा मन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका थिए ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट यस क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com