अब पास भए नि,उपत्यकामा ‘नो इन्ट्री…’


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

नारायण ढुङ्गाना / सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए । ‘दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।’

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए । ‘आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ’, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए ।

गृहमन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउँछन् । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिन्छन् । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com