मे ११ देखि न्युयोर्कका ट्रेनमा कोरोनाभाइरस मार्न पराबैजनी प्रकाश
प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार
आगामी मे ११ को सातादेखि न्युयोर्कका ट्रेनमा कोरोनाभाइरस मार्न पराबैजनी बत्तिको प्रयोग गरिने भएको छ । एमटीएका अधिकारीहरुले ट्रेनहरु संक्रमणविहिन बनाउन शक्तिशाली बत्तिहरु प्रयोग गरिने बताएका छन् ।
ट्रेनका अतिरिक्त बस र अन्य कार्यस्थलमा समेत यो प्रयोग गरिने भएको छ । अहिलेसम्म ब्लीच र रसायन छर्केर संक्रमणबिहिन बनाउने गरिएकोमा अब नयाँ प्रविधि अपनाउन लागिएको हो ।

यातायात प्रणालीमा अन्य रोगहरु मार्न पराबैजनी प्रकाशको प्रयोग परीक्षण गरिसकेका कोलम्बिया युनिभर्सिटीका बैज्ञानिकहरुसँग यसका लागि सहकार्य गरिएको एमटीएले जनाएको छ । बत्तिहरु टे्रनका डिब्बाहरुमा राखिनेछ । त्यस्तै एमटीएका रेलयार्ड र बस डिपोहरुमा पनि बत्ति राखिने भएको छ ।
यदि यो प्रकाश सिधै व्यक्तिमा परेमा असर गर्नसक्ने भएकाले खाली गरिएका ट्रेनमा मात्र यसको प्रयोग गरिने भएको छ । तर व्यक्तिलाई कुनै नोक्सान नहुनेगरी कोरोना भाइरस मार्नसक्ने प्रविधिको पनि परीक्षण भइरहेको छ । यदि यो प्रविधि सफल भएमा यात्रुहरु भित्र भएकै अवस्थामापनि ट्रेन र बसहरुलाई कोरोनाबाट संक्रमणमुक्त बनाउन सकिनेछ ।

बुधबारदेखि लागु हुनेगरी न्युयोर्क सिटीको ट्रेन राती १ बजेदेखि ५ बजेसम्म बन्द गरिने गभर्नर एन्ड्रयु कुमोले घोषणा गरिसकेका छन् । यस्तो बन्द कोरोना महामारीको अवधिभर लागु हुने जनाइएको छ ।






