गरिबमाथि भद्दा मजाक, राहतको नाममा सडेको चामल


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

जनकपुरधाम उपमहानगरपालिकाले वितरण रहेको राहतमा सडेको चामलको पोका वितरण गरेको आरोप स्थानीयवासीले लगाएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समय एक महिनाभन्दा बढी दिन बितिसकेपछि जनकपुरधाम उपमहानगरले बल्ल राहत वितरणको अभियानलाई सुरु गरेको छ । तर राहत वितरण अभियान सुरु भएसँगै राहत लिएकाहरुले उपमहानगरपालिकाले सडेको चामलको पोको वितरण गरेको आरोप लगाएका छन् ।

प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको रकम र स्थानीय सरकारले आफ्नो विपद् व्यवस्थापन कोषबाट समेत निकासा गरेको रकमले जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको हो । जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको र ढुसी परेको पाइएको छ ।

एक महिनाभन्दा पनि बढी समय प्रतीक्षा गरेर पाएको राहतले गरीब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुमा झन् आहत पुगेको छ । राहतको पोको लिएर घरमा गएर खोलेर हेर्दा ढुसी परेको कालो चामल रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित कपलेश्वर बस्ने रामचन्द्र ठाकुर हजामले आक्रोश व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौतर्फी दबाब बढेपछि उपमहानगरले राहत वितरण सुरु गरेपनि गुणस्तरहीन अखाद्य सामग्री वितरण गरेको भन्दै स्थानीयवासी आक्रोशित छन् । स्थानीयवासी रामा ठाकुरले राहत सामग्री घर लिएर पुगेपछि बोरामा पोका पारिएको चामल खोलेर हेर्दा निक्कै दुःखी भएको राहत वितरण गरिएको स्थलमै गएर सो राहत फर्काइ दिएको बताइन् ।

स्थानीय मनोज साहले दुःखेसो पोख्दै भने, ‘घरमा खाद्यान्न सिद्धिन लागिसकेको थियो । विगत एक महिनादेखि हामी राहतको पखाईमा थियौँ । बल्ल राहत पाएर खुशी हुँदै घर आएका थियौँ । तर, त्यो खुसी केही बेर पनि टिकेन । घरमा चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मन नैै खिन्न भइहाल्यो ।’

‘राहत लिने मन त थिएन । तर लामो समयदेखिको बन्दाबन्दीले बेरोजगार भएको र आर्थिक अभावले सो राहत लिन बाध्य भएको थिएँ,’ उनले भने । तर राहतको नाममा सडेको चामल र ढुसी लागेको चामल पाउँदा सरकारले गरिबसँग घटिया मजाक गरेको उनले बताए ।

जनकपुरधाम उपमहानगरले जनकपुधाममा आवश्यकता अनुसारको चामल लगायतका सरसामग्रीहरु नपाउँदा प्रदेश नम्बर १ को बिराटनगरबाट खरीद गरेर ल्याइएको थियो । हरेकलाई १५ किलोग्रामको चामलको पोका दिइएको थियो ।

यता, जनकपुरधाम वडा नम्बर १६ का वडाध्यक्ष राम अशिष पञ्जियारले भने जनकपुरधाम उपमहानगरले आफैले चामल बोरा प्याक नगरेको र बिराटनगरबाट नै प्याक भएर आएको दाबी गरे । यसमा उपमहानगरको गल्ती नभएको भन्दै उनले जनकपुरधाम उपमहानगरको बचाऊ गरेको छ ।

सोमबारसम्ममा २ सय ३९ जनालाई आफूहरुले राहत वितरण गर्दा जम्मा दुई जनाको राहतमा यस्तो समस्या देखिएको वडाध्यक्ष पञ्जियारले जिकिर गरे । गत चैत २२ गते जनकपुरधाम उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि सर्वदलीय बैठकद्वारा १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष निकालेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीय तहले वितरण गरेको खाद्यान्न सहितको सामग्रीमा सुत्केरी र गर्भवती महिलाहरुका लागि केहि व्यवस्था नगरिएको प्रति स्थानीय महिला अधिकारकर्मीहरुले विरोध गर्दै महिलाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री थपेर वितरण गर्न माग गरेका छन् ।

राहत वितरणमा विभेदको आरोप

जनकपुरधाम उपमहानगरले राहत वितरणको लागि संकलन गरेको विवरणमा विभेद गरेको भन्दै विभिन्न वडामा स्थानीयवासीहरुले विरोध गरेका छन् । विपन्न वर्ग, दैनिक ज्यालादारी गरी काम गरेर खाने मजदुर वर्गहरु निकै नै समस्यामा परेका छन् । राहत सामग्रीमा विभेद गर्दा अहिले सैयौँ गरीब परिवारहरुले खान नपाएको उनीहरुको गुनासो । राजनीतिक आस्थाको आधारमा नाम संकलन गरिएको र वास्तविक भोकाहरु भोक भोकै बस्न बाध्य भएको उनीहरुको आरोप छ ।

जनकपुरधाम वडा नम्बर–१६ स्थित कपिलेश्वर बस्ने रञ्जित गिरीले भने, ‘नामवाली संकलन गर्दा हामीहरुको नाम नै संकलन गरेनन् । हामीलाई जानेर नै समावेश गरिएन । हाम्रो घरमा निकै समस्या छ भनेर सबैलाई थाहा छ,’ उनले अघि थप्दै भने– ‘अब हामीलाई सरकारले दिदैँन । त्यही भएर मागेर ल्याएर खाने गरेको छु ।’ त्यस्तै जनकपुरधाम वडा नम्बर–२ स्थित भानु चोक बस्ने अरविन्द्र साहले पनि आफूहरुलाई राजनीतिक आस्थाको आधारमा राहत सामग्रीबाट वञ्चित गरेको आरोप लगाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com