गत महिना बेरोजगारी विमा रकम फाइल गरेकाले अहिलेसम्म पाएनन एकपैसा
प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार
न्युयोर्कमा गत महिना नै बेरोजगारी विमा रकमका लागि फाइल गरेका कैयनले अहिलेसम्म पनि एकपैसा नपाएको गुनासो गरेका छन् । गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कको बेरोजगारी विमा प्रणाली ठीक पार्ने भन्दै पटकपटक प्रतिबद्धता जनाएपनि फाइल गरेका कैयनले न त रकम पाएका छन् न त लेबर डिपार्टमेन्टमा सम्पर्क गर्न पाएका छन् ।
लेबर डिपार्टमेन्टले गुगल लगायतका विभिन्न प्राइभेट कम्पनीसँग सहकार्य गरेर आवेदन प्रकृया सहज बनाएको र आवेदन पूरा नभएकाहरुलाई ७२ घण्टाभित्र कलब्याक गरेर आवेदन पूरा गर्ने बताएको थियो । तर नयाँ आवेदन प्रकृया लागु भएपछि पनि कैयन आवेदकले यो सुविधा प्राप्त गर्न फलामको च्युरा चपाउनुसरह भएको छ ।
लेबर डिपार्टमेन्टमा फोन गर्दा सम्पर्क गर्न निकै मुस्किल रहेको छ भने फोनका लागि चारपाँच घण्टासम्म प्रतिक्षा गर्नुपर्ने आवेदकका लागि सामान्य भएको छ । कैयन आवेदकले आवेदन सब्मिट गर्नु अगाडि नै पटकपटक कम्प्युटर प्रणाली क्र्यासको अवस्था भोग्नुपरेको छ ।
लेबर डिपार्टमेन्टकी प्रवक्ताले नयाँ प्रणाली लागु भएपछि शुक्रबारसम्म ४ लाख ७० हजार आवेदकलाई कल ब्याक गरिएको जानकारी दिएकी छिन् । तर कैयन नेपालीहरुले आफूहरुले कल ब्याक पनि प्राप्त नगरेको र विमाको रकम पनि प्राप्त नगरेको गुनासो गरेका छन् ।
‘कतिपटक फोन गरें । फोन नै लाग्दैन । फर्म भरेको एकमहिना हुन लागिसक्यो, एक पैसा पनि आएको छैन ।’ – खसोखाससँग यस्तो गुनासो गर्ने नेपालीहरुको संख्या दर्जनौं रहेको छ ।
न्युयोर्कमा अधिकतम साप्ताहिक रुपमा बेरोजगारी विमा रकम ५ सय ४ डलरसम्म रहेको छ । त्यसका अतिरिक्त ६ सय डलर साप्ताहिक रुपमा संघीय सरकारबाट प्राप्त हुन्छ । पहिलोपटक सेल्फ इम्प्लोयड समेत बेरोजगारी रकमका लागि योग्य भएका छन् । तर उनीहरुले पनि अहिलेसम्म विमाको रकम प्राप्त गर्नभने सकेका छैनन् ।
न्युयोर्कमा सेल्फ इम्प्लोयडहरुले सुरुमा नियमित बिमाको आवेदन दिनुपर्छ । यदि लेबर डिपार्टमेन्टले नियमित बिमा रकमको आवेदन अस्वीकार गरेमा उनीहरुले पेन्डामिक सुविधाका लागि फर्म भर्नुपर्छ । यो फर्म लेबर डिपार्टमेन्टमा रहेको अनलाइन एकाउन्ट लगइन गरेर भर्न सकिन्छ ।
न्युयोर्क लेबर डिपार्टमेन्टले प्राविधिक समस्या आएको भन्दै बैंक एकाउन्टमा सिधा डिपोजिट पनि स्थगित गरेको छ । त्यसको साटो डेबिट कार्ड पठाउने गरिएको छ । लेबर डिपार्टमेन्टकी प्रवक्ताले अवस्था पूर्णरुपमा जटिल भएको र आफूहरुले सबै कन्ट्रयाक्टरहरुले समयमै न्युयोर्कबासीलाई सुविधाका पठाउने अपेक्षा गरेको बताएकी छिन् ।






