क्यालिफोर्नियाले अमेरिकामा कागजपत्रविहिनलाई पाँचपाँच सय डलर दिने


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

क्यालिफोर्नियाले कोराना महामारीबाट प्रभावित कागजपत्रविहिनका लागि १२५ मिलियन डलरको कोष घोषणा गरेको छ । हरेक कागजपत्रविहिनलाई ५ सय डलरका दरले राहत प्रदान गरिने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेका छन् । यो रकम झण्डै डेढलाख कागजपत्रविहिन बयस्कहरुले प्राप्त गर्नेछन् ।

कागजपत्रविहिनहरुले संघीय सरकारकाले प्रदान गर्ने १२ सय डलरको राहतबाट लाभान्वित नहुने तथा बेरोजगारी बिमाबाट समेत उनीहरुले रकम प्राप्त गर्न नसक्ने भएकाले यो व्यवस्था गरिएको गभर्नरले जनाएका छन् । राज्यको झण्डै १० प्रतिशत जनशक्ति कागजपत्रविहिन रहेको र उनीहरुले गतबर्षमात्र राज्य तथा स्थानीयरुपमा साढे २ बिलियन भन्दा बढी कर तिरेकाले उनीहरुप्रति पनि आफ्नो दायीत्व रहेको गभर्नरको भनाई छ ।

करदाताको ७५ मिलियन र परोपकारीसंस्थाको ५० मिलियन गरी १ सय २५ मिलियनको राहतकोष बनाइने भएको छ । केही परोपकारी संस्थाले साढे ५ मिलियन डलर सहयोग गरिसकेका छन् । रकम आम्दानीको आधारमा वितरण नगरिने र व्यक्तिगत सुचना पनि आवश्यक नहुने गभर्नरले बताएका छन् ।

क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरुका लागि विशेष रुपमा उदार रहदै आएको छ । गतबर्षमात्र क्यालिफोर्नियाले २५ बर्षभन्दा कम उमेरका कम आम्दानीभएका कागजपत्रविहिनलाई स्वास्थ्य सुविधा ल्याएको थियो । यो बर्ष गभर्नरले उक्त सुविधा ६५ बर्षमाथिका कागजपत्रविहनलाई पनि दिलाउन प्रस्ताव गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com