लकडाउन चाँडै खोल्दा झनै घातक हुने डब्लुएचओको चेतावनी


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा टेड्रोस अधानोम घेब्रेयेससले लकडाउन चाँडै हटाउँदा अवस्था झनै घातक हुने चेतावनी दिएका छन्
युरोपेली मुलुक स्पेन र इटालीले प्रतिबन्ध केही खुकुलो पार्नेबारे रणनीति बनाउन थालेसँगै डब्लुएचओले उक्त चेतावनी दिएको हो ।

स्पेन र इटालीमा अहिले पनि लकडाउन भने जारी नै छ । तर स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ । उता इटालीले १३ अप्रिलमा सकिन लागेको लकडाउन ३ मे सम्मका लागि बढाइसकेको छ । त्यहाँ पनि लामो समयदेखि बन्द हुँदा मारमा परेका सीमित व्यवसाय खोल्न दिनेबारे छलफल थालिएको छ ।

टेड्रोसले जेनेभामा एक भर्चुअल पत्रकार सम्मेलनमार्फत् कोरोना महामारी रोक्ने बलियो हतियार प्रतिबन्धहरु नै भएको बताउँदै चाँडै खुकुलो पार्न नहुनेतर्फ सचेत गराएका हुन् ।

यद्यपि मुलुकहरुको अवस्था हेरी प्रतिबन्धहरु केही खुकुलो बनाउने रणनीतिबारे छलफल भैरहेको बताउँदै उनले लकडाउन भने चाँडै हटाउन नसकिनेमा जोड दिए । कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनुपर्ने टेड्रोसको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com