कोरोना भाइरसबिरुद्ध प्लाज्मा उपचार र भ्याक्सिन परीक्षणमा तीब्रता
प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार
अमेरिकी अधिकारीहरुले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन जतिसक्दो छिटो विकाश गर्नका लागि काम गरिरहेका छन् । सामान्यतया भ्याक्सिनहरु सर्वसाधारणको प्रयोगका लागि आउन १२ देखि १८ महिनासम्म लाग्ने बताइएपनि त्यो भन्दा छिटो भ्याक्सिन विकाश गर्न काम भइरहेको जनाईको छ ।
एलर्जी र सरुवारोगको राष्ट्रिय प्रतिष्ठानका निर्देशक डाक्टर एन्थोनी फौजीले भ्याक्सिन आउन १२ देखि १८ महिना लाग्ने बताएपनि अधिकारीहरुले भने यो टाइमलाइन जोखिमपूर्ण रहेको बताएका छन् । गतमहिना कोरोना भाइरसबिरुद्धको एउटा भ्याक्सिनको पहिलो डोज परीक्षण गरिएकोमा अहिले अर्को भ्याक्सिनको परीक्षण प्रारम्भ गरिएको छ ।
बायोटेक्नोलोजी कम्पनी इनोभियोले यो हप्तादेखि पहिलो चरणको क्लीनिकल परीक्षण सुरु गरेको छ भने समर सकिदासम्म परीक्षण समाप्त हुने कम्पनीका प्रवक्ताले बताएका छन् । अधिकारीहरुले सबै आर्थिक स्तरका व्यक्तिका लागि भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच अमेरिकाको एफडीएले गम्भिर रुपमा बिरामी भएकाहरुका लागि ब्लड प्लाज्मा उपचारका लागि तीब्र स्वीकृति प्रदान गरिसकेको छ । यसैहप्ता कोरोना भाइरसको संक्रमणपछि निको भएका एकजनाले उनले दान गरेको प्लाज्मा वितरण गरिएको र उनमा विकाश भएको एन्टीबडीले अरु बिरामीलाई पनि निको हुन मद्दत पुग्ने बताएका थिए ।






