हातमा सुनको औँठी र आइफोन,मान्छे राहतको लाइनमा


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।

हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न ग-यौँ, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्, हातमा आइफोन लिएर, सुनका सिक्री आँैठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो ।”

भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको बताउँदै उहाँले सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएको बताउनुभयो ।

यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ । वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको गुनासो गर्दै उहाँले ७०० भन्दा बढीको नाम सङ्कलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई वितरण गरेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सूर्यविनायक–८ सिपाडोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएकाहरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । कतिपयले पैसा छ, खानेकुरा किन्न पाएनौँ भन्दै राहत लिन आएकोे उहाँले जानकारी दिनुभयो ।

यता सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको रु ४५ हजार भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले जानकारी दिनुभयो । एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै एउटै परिवारका श्रीमान् श्रीमतीले नै राहत लिन आएको जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले सङ्कटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा हुनेखाने नै राहत लिन आएको गुनासो चारैतिरबाट आएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन । प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण शुरु गर्ने बताउनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रम्ुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताउनुभयो । नामावली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको बताउनुभयो । चाँगुनारायणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com