न्युयोर्क सिटीमा ६७ हजार बढी संक्रमित, अस्पताल भर्ना हुनेहरु १४ हजार २ सय ५
प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार
न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ६७ हजार ५ सय ५१ पुगेको छ । तर अस्पतालमा भर्ना हुनेहरुको संख्या भने जम्मा १४ हजार २ सय ५ मात्र रहेको न्युयोर्क सिटी हेल्थ डिपार्टमेन्टले जनाएको छ ।
आज बेलुका ५ बजेसम्मको विवरण अनुशार न्युयोर्क सिटीमा मृतकको संख्या २४७२ रहेको छ । मृतकहरु सबैभन्दा धेरै ७५ बर्षभन्दामाथिका रहेका छन् । आजविहानसम्मको तथ्यांक अनुशार पहिले नै डायबेटिज, फोक्सोको रोग, क्यान्सर, मुटुको रोग, दम, मृगौलाको रोग, कलेजोको रोग जस्ता समस्या भएकाहरुको मृत्युदर उच्च रहेको छ ।
पहिले नै स्वास्थ्य समस्या भएकाहरु १५०३ जनाको मृत्यु भएको छ भने पहिलो स्वास्थ्यसमस्या नभएकाहरुमा ३८ जनाको मात्र मृत्यु भएको छ । ७१५ जनाको भने पहिले नै स्वास्थ्य समस्या भए नभएको स्पष्ट छैन ।
मृतकमध्ये ७५ बर्ष उमेर कटेकाहरु सबैभन्दा धेरै १०३० रहेका छन् । ४५ बर्षदेखि ७५ बर्ष उमेर समुहका १०९२ रहेका छन् । मृतकहरु १८ देखि ४५ सम्मका १३२ जना रहेका छन् भने १८ बर्षभन्दा कम उमेरका जम्मा २ जना रहेका छन् ।
न्युयोर्कको क्वीन्समा अहिलेसम्म ३७ हजार ६ सय ६२ जनाको परीक्षण गरिएकोमा २१ हजार ४ सय ३६ मा संक्रमण पुष्टी भएको छ । अर्थात् टेस्ट गरिएकाहरुमध्ये झण्डै ५७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।








