न्युयोर्क आइपुग्यो ल्याब, फार्मेसी र अपरेशन कक्ष सहित १ हजार शैयाको पानीजहाज अस्पताल


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

सोमबार न्युयोर्कमा १ हजार शैयाको नेभी अस्पताल पानीजहाज ल्याइएको छ । उक्त अस्पताल न्युयोर्क सिटीको समुन्द्रको किनारामा पार्क गरिएको छ ।

यो अस्पतालभित्र १२ सयजना मेडिकल टिमका सदस्य समेत रहेका छन् । यसभित्र १२ वटा अपरेशन कक्षहरु रहेका छन् भने भित्रै फार्मेसी समेत रहेको छ । त्यस्तै जहाजभित्रै ल्याब समेत रहेको छ ।

यो पानीजहाज पियर ९० मा पार्क गरिएको छ । उक्त जहाजभित्र ८० वटा आईसीयु समेत रहेका छन् । यो जहाजमा केवल कोरोनाभाइरसको संक्रमण भएकाहरुकोमात्र उपचार गरिने भएको छ ।

यो न्युयोर्क सिटीमा एउटा अर्को अस्पताल थपिएसरह भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । उनले हरेकको जीवन बचाउन हरतरहले प्रयास गरिने बताएका छन् ।

यसैबीचअमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को उपचारका लागि औषधी प्रयोगको आपतकालिन स्वीकृति प्रदान गरेको छ । एफडीएले मलेरियाबिरुद्धको औषधीको प्रयोग कोभिड १९ का लागि स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिपछि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले वक्तब्य जारी गरेर ३० मिलियन डोज हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट र १ मिलियन डोज क्लोरोक्वीन फस्फेट राष्ट्रिय भण्डारणलाई प्रदान गरिने जनाएको छ ।

क्लोरोक्वीन फस्फेट बेयर फार्मास्युटिकल्सले बनाएको हो भने हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट स्याण्डोजले प्रदान गरेको हो । यो औषधी चिकित्सिकले कोभिड १९ का बिरामी किशोरहरु र जवानहरुका लागि प्रयोग गर्न सक्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाबिरुद्धको औषधी कोभिड १९ को उपचारमा गेम चेन्जर हुनसक्ने बताउँदै आएका छन् । यी औषधीहरु सामान्यतया मलेरियाको उपचारका लागि मुखबाट दिने औषधीहरु हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले कोरोना भाइरसबिरुद्धको ल्याब परीक्षणणमा यी औषधीले कोरोना भाइरसबिरुद्ध गतिविधि देखाएको उल्लेख छ । तर अहिलेसम्म कोरोनाको छुट्टै औषधी भने बनिसकेको छैन ।

एफडीएले न्युयोर्कमा रहेका केही काभिड १९ का बिरामीमा यी औषधीहरु चलाउनका लागि स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाको न्युयोर्कमा सबैभन्दा धेरै कोरोना संक्रमणका बिरामीहरु पुष्टी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com