दुबईबाट काठमाडौँ आएको ७ दिनपछि कोरोना संक्रमणको पुष्टि, काठमाडौंका होटलमा बसेको खुलासा


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

नेपालमा तेस्रो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको खुलेको छ।

दुबईबाट काठमाडौँ आएको ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि यो बीचमा उनको सम्पर्कमा रहेका व्यक्तिहरु समेत जोखिममा परेका छन्।

चैत ६ गते दुबईबाट फर्केर काठमाडौँको होटलमा बसेका उनी ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनले अस्पताल र होटलसम्म उपचार र परीक्षण गर्न जाँदा ट्याक्सीसहितका सार्वजनिक सवारी प्रयोग गरेका छन्। उनी चढेका ती ट्याक्सीसहितका सार्वजनिक सवारीका साधनबाट पनि भाइरसको फैलावट भएको हुन सक्ने आशंका छ।

सरकारी निकायले उनी बस्दै आएको होटेलको नाम खुलाएका छैनन् तर अब गर्नुपर्ने सबै सावधानीका उपायहरु अबलम्बन गरिने जनाइएको छ।

मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com