ब्यारेकबाट निस्कियो सेना ?


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेसँगै सोमबार सरकारले लकडाउन गर्ने निर्णय गर्‍यो।

सप्तरी, सिरहालगायत प्रदेश २ का अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएको छ। सदरमुकामबाहेक अधिकांश क्षेत्रका बजार तथा पसल खुलेका थिए। प्रहरीको प्रयासले केही समय बन्द भएपनि मानिसको चहलपहल दिनभर नै कायम थियो।

यसलाई रोक्न सप्तरीका केही स्थानमा नेपाली सेना परिचालन गरिएको छ भने बुधबारबाट जिल्लाभर नै सेना परिचालन गर्न लागिएको छ। सप्तरीको कञ्चनरूप नगरपालिका रूपनगर चौकमा पसल बन्द गराउन प्रहरीले पटकपटक मानिस लखेट्नु परेको थियो। मोटरसाइकल, टेम्पोलगायतका सवारीसाधन संचालनमै रहे।

फाट्टफुट्ट रुपमा चारचक्के सवारी साधन पनि संचालन भए। यसै अवस्थालाई मध्यनजर गरी सप्तरीमा सेना परिचान गरिएको छ। मंगलबारदेखि नै सप्तरीका विभिन्न स्थानमा सेनाको गस्ती सुरु भएको छ भने बुधबारदेखि जिल्लाभरका मुख्यमुख्य चौकमा सेना परिचालन गर्ने निर्णय भएको राजविराजस्थित भीमदल गणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिनुभयो । सेनाले सरकारको निर्णय कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्ने कुँवरको भनाइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com