सामान्य प्रकृतिका थुनुवालाई रिहा गर्ने


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक कार्कीले आज पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिरहेको बताउनुभयो । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com