पहिलो रिपोर्टमा कोरोना पोजेटिभ देखिएका पर्साका ब्यापारीको दोश्रो रिपोर्ट नेगेटिभ, तेश्रो रिपोर्ट आउन बाँकी


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

भारतको पटना अस्पतालमा गरिएको पहिलो परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएका पर्साको वीरगञ्जका ब्यापारीमा दोश्रो परीक्षण रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको जनाइएको छ । दोश्रो रिपोर्ट राजेन्द्र मेमोरियल रिसर्च इन्स्टीच्युट अफ मेडिकल साइसेन्सले तयार पारेको छ ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएका थिए । तर दोश्रो रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । तेश्रो रिपोर्टका लागि नेशनल इन्स्टीच्युट अफ भाइरोलोजीमा स्वाब पठाइएपनि त्यहाँको रिपोर्ट भने आइनसकेको जनाइएको छ ।

६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमानै बोलाएर चिकित्सकलाई देखाएपछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको बताएका थिए ।

यसैबीच  जोन हप्कीन्स युनिभर्सिटीले तयार पारेको पछिल्लो तथ्यांकमा नेपालमा आजमात्रै एकजनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको जनाइएको छ । जो हप्कीन्स युनिभर्सिटीको सेन्टर फर सिम्टम्स साइन्स एण्ड इन्जिनियरिंग सीएसएससीले तयार पारेको तथ्यांकमा यो जनाइएको हो ।

जोन हप्कीन्स युनिभर्सिटीको लाइभ तथ्यांक हेर्न यहाँ क्लीक गर्नहोला ।

जोन हप्कीन्स युनिभर्सिटीले यो तथ्यांक विश्व स्वास्थ्य संगठनबाट प्राप्त गरेको जनाइको छ । ५७ दिन अगाडि नेपालमा एकजना बिरामी संक्रमित भएको पुष्टी भएपछि आज भेटिएको संक्रमण दोश्रो हो ।

त्यस्तै वर्ड ओ मिटरको तथ्यांकमा पनि आजमात्रै नेपालमा एकजनामा कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरिएको छ । तर संक्रमित व्यक्ति को हुन् र कहाँका हुन् भन्नेबारे केही खुलाइएको छैन ।

वर्ड ओ मिटरको लाइभ तथ्यांक हेर्न यहाँ क्लीक गर्नहोला ।

विश्वका तथ्यांकहरुमा समावेश गरिएको नयाँ केस विरगञ्जकै हो वा अन्य कुनै केस हो भन्नेबारे स्पष्ट छैन ।

यो समाचार अतिरिक्त विवरणसहित अपडेट गरिएको छ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com