म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जान पाउँछु ? (६ प्रश्नको जवाफ )


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएपछि यसबारे अन्यौल श्रृजना भएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

यो प्रतिबन्ध लागु भइसकेको छ । यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार आउनेहरुमाथि लगाइएको छ ।

कतारको सरकारले निकालेको वक्तब्यको पूर्ण पाठ

कतारले ती देशहरुबाट अन अराइभल भिसामा आउने, कतारको रेसिडेन्स वा वर्क परमिट हुनेहरु र अस्थायी भिजिटरहरु सबैलाई प्रतिबन्ध लगाएको छ । अर्थात् नेपालबाट कामदार भिसामा आउनेहरु र कतार घुम्न आउनेहरुमात्र नभई त्यहाँको रेसिडेन्स वा वर्क परमिट प्राप्त गरिसकेकाहरु पनि प्रभावित हुनेछन् ।

म नेपाली नागरिक हुँ । म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जाँदैछु । के म यो नियमबाट प्रभावित हुन्छु ?

यदि तपाई नेपाली नागरिक हुनुहुन्छ । र , कतारमा ट्रान्जिट पारेर अमेरिका वा अन्य तेश्रो मुलुक जाँदै हुनुहुन्छ भने तपाईलाई कतारले लगाएको प्रतिबन्धले कुनै असर पर्नेछैन । किनभने कतार एयरवेजले हमाद इन्टरनेशनल एयरपोर्ट हुँदै तेश्रो मुलुकमा जानका लागि कुनै प्रतिबन्ध नलाग्ने बताएको छ । तर तपाई तेश्रो मुलुकमा जाँदा उक्त मुलुकले नेपालबाट आउने वा नेपाली नागरिकलाई प्रतिबन्ध लगाएको वा नलगाएकोबारे चेक गर्नुहोला ।

मेरो अमेरिकी पासपोर्ट छ । म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जाँदैछु । के म यो नियमबाट प्रभावित हुन्छु ?

यदि जुनसुकै देशको नागरिक भएपनि कतारमा ट्रान्जिट पारेर अमेरिका वा अन्य तेश्रो मुलुक जाँदै हुनुहुन्छ भने तपाईले कतारले लगाएको प्रतिबन्धले कुनै असर पर्नेछैन । तपाई नागरिक भएको देशलाई तपाई जाँदै गरेको मुलुकमा प्रतिबन्ध लगाइएको छ वा छैन त्यो बारेभने विचार गर्नुहोला ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

मेरो अमेरिकी पासपोर्ट छ । के म नेपालबाट कतार जान सक्छु ?

कतारले लगाएको नयाँ प्रतिबन्ध अनुशार तपाईसँग अमेरिकी वा अन्य कुनै देशको पासपोर्ट भएपनि नेपालबाट कतार अन्तिम गन्तब्य बनाएर जान सक्नुहुनेछैन । किनभनेर कतार १४ देशबाट आउनेहरुमा लगाएको प्रतिबन्ध ती देशका नागरिकहरुमाथि नभएर ती देशबाट आउने विश्वका जुनसुकै देशका यात्रुहरुका लागि हो । त्यसैले तपाईको विश्वको जुनसुकै देशको पासपोर्ट भएपनि तपाई ती १४ देशहरु चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार अन्तिम गन्तब्य बनाएर जान सक्नुहुनेछैन ।

म नेपाली नागरिक हुँ । के म अमेरिकाबाट कतार जान सक्छु ?

सक्नुहुन्छ । अहिलेसम्म कतारले अमेरिकाबाट आउनेहरुलाई प्रतिबन्ध लगाएको छैन । तपाईसँग नेपाली पासपोर्ट भएपनि तपाई अमेरिकाबाट जाँदै हुनुहुन्छ भने तपाई कतारलाई अन्तिम गन्तब्य बनाएर जान सक्नुहुन्छ । तर तपाईसँग उपयुक्त भिसा हुनु आवश्यक छ ।

मेरो अमेरिकी पासपोर्ट छ । के म नेपालबाट कतार आई त्यहाँको ट्रान्जिटमा झरेर बाहिर निस्केर घुमेर अमेरिका आउन सक्छु ?

सक्नुहुन्न । कतार एयरवेजले ट्रान्जिट पर्ने सबैका लागि स्टपओभर सेवा स्थगित गरेको छ । अहिलेका लागि ट्रान्जिटमा रहेका कुनै पनि यात्रुहरुलाई हमाद इन्टरनेशनल एयरपोर्ट बाहिर जान दिइनेछैन । कतार एयरवेजले स्टपओभर टिकट उपलब्ध गराएकोमा त्यस्ता टिकट रद्द गराएर रिफण्ड लिन चाहनेलाई पूरै रकम रिफण्ड दिइने कतार एयरवेजले जनाएको छ ।

म नेपाली नागरिक हुँ । मेरो कतारको रेसिडेन्स वा वर्क परमिट वा भिजिटर भिसा छ । के म नेपालबाट कतार जानसक्छु ?

सक्नुहुन्न । कतारले लगाएको नयाँ प्रतिबन्ध नै यही हो । तपाईको रेसिडेन्स वा वर्क परमिट वा भिजिटर भिसा भएपनि तपाई नेपालबाट कतारलाई गन्तब्य बनाएर जान सक्नुहुन्न । नेपालमात्र होइन, तपाई चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट पनि कतार जान सक्नुहुन्न ।

कतारको सरकार र कतार एयरवेजबाट प्राप्त सुचनाका आधारमा

 

 

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

 

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com