विमानस्थलबाटै प्रिन्सटन विश्वविद्यालयकी चिनियाँ अनुसन्धानकर्ता पक्राउ
विमानस्थलमा संघीय अध्यागमन निगरानी तीव्र पारिएसँगै प्रिन्सटन विश्वविद्यालयमा अध्ययनरत एक चिनियाँ अनुसन्धानकर्ता पक्राउ परेकी छिन्। १४ वर्षको उमेरमा अमेरिका आएकी उनको शरणार्थी मुद्दा वर्षौंदेखि विचाराधीन रहे पनि अधिकारीहरूले अध्ययन अनुमति नभएको बताएका छन्।
तस्वीर : आइस
अमेरिकाको प्रतिष्ठित प्रिन्सटन विश्वविद्यालयमा न्युरोसाइन्स विषयमा विद्यावारिधि गरिरहेकी एक चिनियाँ अनुसन्धानकर्तालाई संघीय अध्यागमन अधिकारीहरूले विमानस्थलबाटै पक्राउ गरेका छन्।
विश्वविद्यालयका सल्लाहकार कार्लोस ब्रोडीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्यावारिधिको तेस्रो वर्षमा अध्ययनरत इभा यी सिए बिहीबार वासिङ्टन डिसीमा आयोजित एक सम्मेलनमा सहभागी भई न्युजर्सी फर्कने क्रममा रोनाल्ड रेगन वासिङ्टन नेसनल एयरपोर्टबाट पक्राउ परेकी हुन्। उनलाई अमेरिकी आइसका अधिकारीहरूले नियन्त्रणमा लिएका हुन्।
आइस मातहतको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सिए भिसाको म्याद सकिएपछि पनि अवैध रूपमा बसेको र उनीसँग अमेरिकामा अध्ययन गर्ने वैध अनुमति नभएको दाबी गरेको छ। डीएचएसका अनुसार सन् २०१६ मार्च १६ मा अस्थायी भिसामा अमेरिका प्रवेश गरेकी उनले सोही वर्षको सेप्टेम्बर १५ भित्र देश छोड्नुपर्ने कानुनी नियम उल्लंघन गरेकी थिइन्।
यता, सिएकी कानुन व्यवसायी केरी डोयलले भने उनी १४ वर्षको उमेरमा परिवारसँगै चीनबाट अमेरिका आएको र उनको शरणार्थी आवेदन वर्षौंदेखि विचाराधीन अवस्थामा रहेको बताएकी छिन्। मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई अमेरिकामा बस्न, काम गर्न र अध्ययन गर्न कानुनी अनुमति रहेको डोयलको जिकिर छ। हाल सिएलाई भर्जिनियास्थित आइसको ‘क्यारोलिन डिटेन्सन सेन्टर’मा राखिएको छ।
डीएचएसले भने विचाराधीन आवेदनले मात्र कानुनी हैसियत प्रदान नगर्ने स्पष्ट पार्दै देश निकाला सम्बन्धी कारबाही टुंगो नलागेसम्म उनी आइसकै हिरासतमा रहने जनाएको छ।
सन् २०२४ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेकी सिएले प्रिन्सटन न्युरोसाइन्स इन्स्टिच्युटमा निर्णय प्रक्रियाको स्नायु आधारबारे अनुसन्धान गरिरहेकी थिइन्। विश्वविद्यालयको ग्राजुएट स्कुलका डिन रोडनी प्रिस्टलीले घटनाप्रति दुःख व्यक्त गर्दै सिए छिट्टै आफ्नो अध्ययनमा फर्कन सक्ने आशा व्यक्त गरेका छन्।
यस घटनाप्रति न्युजर्सीका डेमोक्रेटिक सिनेटर कोरी बुकर र गभर्नर मिकी सेरिलले पनि चासो व्यक्त गरेका छन्। सिनेटर बुकरले आइसबाट पक्राउको चित्तबुझ्दो जवाफ नआएको बताएका छन् भने गभर्नर सेरिलले संघीय सांसद र भर्जिनिया राज्यसँग समन्वय गर्न निर्देशन दिएकी छिन्। एसियन अमेरिकन स्कलर फोरमकी कार्यकारी निर्देशक जिसेला पेरेज कुसाकावाले सिएको अधिकारको रक्षा हुनुपर्ने माग गर्दै कानुनी शासन र उचित प्रक्रियाले मात्र विश्वका उत्कृष्ट वैज्ञानिक प्रतिभाहरूलाई अमेरिकामा आकर्षित गरिरहन सक्ने बताएकी छिन्।
अमेरिकी अध्यागमन अधिकारीहरूले पछिल्लो समय विमानस्थलहरूमा निगरानी र पक्राउको क्रम तीव्र पारेका छन्। सिए पक्राउ परेको दुई दिनपछि सियाटल विमानस्थलको जेट ब्रिजबाटै एक बाबुछोरीलाई पनि अधिकारीहरूले नियन्त्रणमा लिएका थिए।





