७ मंसिर २०८३, सोमबार| Monday, November 23, 2026
अमेरिका

क्यालिफोर्नियामा अर्बपतिमाथि ५ प्रतिशत सम्पत्ति कर लगाउने प्रस्ताव अस्वीकृत, भविष्यका लागि समेत बाटो बन्द

क्यालिफोर्नियाका मतदाताले अर्बपतिहरूको सम्पत्तिमा ५ प्रतिशत कर लगाउने प्रस्ताव (प्रपोजिसन ४०) अस्वीकार गरेका छन्। साथै, भविष्यमा पनि यस्ता सम्पत्ति कर लगाउन प्रतिबन्ध लगाउने कानुन (प्रपोजिसन ४२) पारित गरेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Zetong Li/ Unsplash

अमेरिकाको पछिल्लो निर्वाचनमा देशभर डेमोक्र्याट र प्रगतिशील पक्षधरहरूले ठुलो जित हासिल गरे पनि क्यालिफोर्नियाका मतदाताहरूले भने राज्यस्तरीय ‘सम्पत्ति कर’को अहिलेसम्मकै ठुलो परीक्षणलाई अस्वीकार गरिदिएका छन् । मतदाताहरूले अर्बपतिमाथि कर लगाउने प्रस्ताव अस्वीकृत मात्र गरेनन्, भविष्यमा समेत यस्तो कर लागू गर्न निकै कठिन हुने कानुनी व्यवस्था पारित गरेका छन् ।

निर्वाचनमा ‘प्रपोजिसन ४०’  मार्फत एक अर्ब डलरभन्दा बढी खुद सम्पत्ति भएका क्यालिफोर्नियाली नागरिकमाथि एकपटकका लागि ५ प्रतिशत सम्पत्ति कर लगाउने प्रस्ताव गरिएको थियो, जसबाट उठ्ने अधिकांश रकम स्वास्थ्य सेवामा खर्च गर्ने योजना थियो । तर, ५२ प्रतिशत मतदाताले यो प्रस्तावको विपक्षमा मतदान गरे ।

यसैगरी, मतदाताहरूले झिनो बहुमतका साथ ‘प्रपोजिसन ४२’पारित गरेका छन् । यसले राज्य सरकारलाई भविष्यमा नागरिकको वित्तीय सम्पत्ति, व्यावसायिक स्वामित्व र बौद्धिक सम्पत्तिमा कर लगाउन प्रतिबन्ध लगाएको छ । राज्यका सांसदहरूले यो व्यवस्था उल्ट्याउन सक्ने छैनन्; यसलाई भविष्यमा मतदाताहरूले नै अर्को जनमत संग्रह मार्फत मात्र परिवर्तन गर्न सक्नेछन् ।

क्यालिफोर्निया स्टेट युनिभर्सिटी, साक्रामेन्टोका राजनीतिशास्त्रका प्राध्यापक वेस्ली हसीले भने, “निकट भविष्यमा यति अनुकूल डेमोक्र्याटिक मतदाता समूह फेरि देख्न पाइनेछ जस्तो मलाई लाग्दैन । निकै प्रगतिशील र व्यापक विरोध सामना गरिरहेको यस्तो प्रस्ताव पारित गर्ने यो नै उपयुक्त समय थियो ।”

वासिङ्टन लगायत अन्य राज्यहरूमा १० लाख डलरभन्दा बढी वार्षिक आम्दानीमा कर लगाउने ‘ट्याक्स द रिच’ अभियान सफल भए पनि क्यालिफोर्नियाको प्रस्ताव फरक थियो । यसले आम्दानीमा नभई अति धनाढ्यहरूको कुल सम्पत्तिमा कर लगाउन खोजेको थियो ।

प्रपोजिसन ४० को विरोध र प्रपोजिसन ४२ को समर्थनमा गठित एक समितिले ३३ करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरेको थियो । जसमा गुगलका सह-संस्थापक सर्गेई ब्रिन र पूर्व प्रमुख कार्यकारी अधिकृत एरिक स्मिट जस्ता प्रविधि क्षेत्रका अर्बपतिहरूले ठुलो चन्दा दिएका थिए । यो लडाइँ राज्यको इतिहासमै सबैभन्दा महँगो चुनावी प्रतिस्पर्धा बनेको थियो ।

विरोधीहरूले समर्थकको तुलनामा १० गुणा बढी रकम खर्च गरेका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम स्वयंले पनि यो कर राज्यको अर्थतन्त्रका लागि घातक हुने चेतावनी दिएका थिए । अर्बपतिहरू राज्य छोडेर बाहिरिएमा राज्यको आयकर संकलनमा ठुलो गिरावट आउने विरोधीहरूको तर्क थियो ।

यद्यपि, क्यालिफोर्नियाका मतदाताहरूले धनीमाथि कर बढाउने अवधारणालाई पूर्ण रूपमा भने नकारेका छैनन् । शिक्षा क्षेत्रका लागि रकम जुटाउन वार्षिक ३ लाख ७१ हजार डलरभन्दा बढी व्यक्तिगत आम्दानीमा लाग्दै आएको अतिरिक्त करलाई अनिश्चितकालका लागि लम्ब्याउने प्रस्ताव भने मतदाताहरूले पारित गरेका छन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अन्य राज्यहरूको हकमा वासिङ्टनका मतदाताले १० लाख डलरभन्दा बढीको पारिवारिक आम्दानीमा ९.९ प्रतिशत करलाई कायमै राखेका छन् भने कोलोराडोले १० लाख डलरभन्दा बढीको आम्दानीमा ८.४ प्रतिशत कर लगाउने व्यवस्था पारित गरेको छ । यस्तै, हवाई, मेन र रोड आइल्याण्डका विधायिकाहरूले पनि १० लाख डलरभन्दा बढी आम्दानी गर्नेहरूमाथि नयाँ कर स्वीकृत गरेका छन् ।

प्रपोजिसन ४० का समर्थकहरू-जसमा ‘एसईआईयू युनाइटेड हेल्थकेयर वर्कर्स वेस्ट’, सिनेटर बर्नी स्यान्डर्स र सांसद रो खन्ना समावेश छन् । यो हारलाई अर्बपतिहरूलाई जवाफदेही बनाउने दिशामा एक कदम अगाडि बढेको रूपमा व्याख्या गरेका छन् । उनीहरूले सन् २०२८ को निर्वाचनमा यो मुद्दा पुनः मतदातामाझ लैजाने संकेत दिएका छन् ।

निर्वाचनको रात सांसद रो खन्नाले भने, अब खेल सकिएको छ, जनता आजित भइसकेका छन् र यो निर्वाचन त केवल सुरुवात मात्र हो ।

क्यालिफोर्निया फेडरेसन अफ लेबर युनियन्सकी अध्यक्ष लोरेना गोन्जालेजले शिक्षक संघ र प्लान्ड प्यारेन्टहुड जस्ता संस्थाहरूको विरोधका कारण प्रस्ताव पारित गर्न कठिन भएको बताउँदै भनिन्, “हामी फेरि मतपत्रमा फर्किनुपर्छ र यो लडाइँ जारी राख्नुपर्छ ।”

जनवरीमा गभर्नरको कार्यभार सम्हाल्न लागेका नवनिर्वाचित डेमोक्र्याटिक गभर्नर जेभियर बेसेराले पनि आफूले यो करको विरोध गरे तापनि यसले पाएको समर्थनले “क्यालिफोर्नियामा सबैले आ-आफ्नो हिस्साको उचित कर तिरिरहेका छैनन् भन्ने स्पष्ट सन्देश दिएको” प्रतिक्रिया दिएका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →