६ मंसिर २०८३, आइतबार| Sunday, November 22, 2026
अमेरिका

पुराना प्रविधि प्रणाली प्रतिस्थापन गरिँदा अमेरिकामा अझै प्राविधिक अवरोध आउन सक्ने गुप्तचर प्रमुखको प्रष्टोक्ति

प्रविधि प्रणाली प्रतिस्थापनका क्रममा समस्या र सेवा अवरोध आउनु स्वाभाविक रहेको अमेरिकी गुप्तचर प्रमुख जे क्लेटनको भनाइ छ। यस महिना हवाई उडान, बैंक र सरकारी नेटवर्कमा देखिएको अवरोध कुनै राज्य-प्रायोजित आक्रमण नभएको उनले प्रस्ट पारेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Kirill Sh/ Unsplash

अमेरिकाका कम्पनी तथा सरकारी निकायहरूले आफ्ना पुराना प्रविधि प्रणालीहरूलाई प्रतिस्थापन गर्ने क्रम जारी रहेकाले अमेरिकी नागरिकहरूले आगामी दिनमा थप प्राविधिक अवरोध र सेवा अवरुद्ध हुने अवस्थाको सामना गर्नुपर्ने अमेरिकाका शीर्ष गुप्तचर अधिकारीले आइतबार बताएका छन्।

सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा बोल्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले भने, चलिरहेको स्तरोन्नतिको एक हिस्साका रूपमा प्रणालीमा समस्या, रिक्तता र सेवामा अवरोधहरू आउनेछन्। यो अवश्यम्भावी छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका शृङ्खलाबद्ध प्राविधिक विफलताहरूलाई कम्पनीहरूको प्रविधि प्रणालीको स्तरोन्नतिसँग जोडेर अभिव्यक्ति दिएको केही दिनपछि क्लेटनको यो अन्तर्वार्ता सार्वजनिक भएको हो। क्लेटनका अनुसार तीव्र प्राविधिक विकासले पुराना प्रणालीहरूमा दबाब सिर्जना गरेकाले कार्यसम्पादन र साइबर सुरक्षा सुधार गर्न यस्ता स्तरोन्नति आवश्यक छन्।

यस महिना भएका शृङ्खलाबद्ध प्राविधिक गडबडीहरूले अमेरिकाका संवेदनशील प्रणालीहरूलाई प्रभावित पारेका थिए। जसमा देशव्यापी हवाई उडान अवरुद्ध हुनुका साथै इमेल सेवा प्रभावित पार्ने माइक्रोसफ्टको समस्या, थुप्रै ठूला बैंकहरूमा देखिएको प्राविधिक गडबडी र राष्ट्रिय सुरक्षा एजेन्सीको नेटवर्कमा भएको अस्थायी अवरोध समावेश छन्।

एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै क्लेटनले ती अवरोधहरू कुनै समन्वित वा राज्य-प्रायोजित आक्रमणको परिणाम नभई प्राविधिक स्तरोन्नतिकै कारण भएको आफ्नो अघिल्लो भनाइ दोहोर्‍याए।

त्यसैगरी, सङ्घीय जाँच ब्युरो र कृषि मन्त्रालयमा भएका भनिएका छुट्टै साइबर आक्रमणका विवरणबारे भने उनले टिप्पणी गर्न अस्वीकार गरे। अनुसन्धानकर्ताहरूले उपयुक्त समयमा यसबारे स्पष्ट जवाफ दिने अपेक्षा आफूले गरेको उनले बताए।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →