अमेरिकामा आज १ घण्टा समय घट्यो, २३ घण्टाको ८ मार्च, मिलाउनुभयो घडी ?


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

तपाईले आज घडी मिलाउन विर्सनुभएको त छैन ? अमेरिकामा आज विहान १ घण्टा समय कम भएको छ । अर्थात् पूर्वीय समय अनुशार आज विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बजेन, एकैचोटी ३ बज्यो ।

तपाईको घडी इन्टरनेटसँग जोडिएको छ भने तपाईले घडी मिलाउनु पर्दैन । अर्थात मोवाइल, ल्यापटप, आइप्याड लगायतका उपकरणमा भएका घडीहरुमा अटोमेटिक समय आफै मिलिसकेको छ । तर तपाईले हातमा लगाउने घडी वा भित्तामा रहेको घडी म्यानुअल छ भने चाँही समय मिलाउनुपर्छ ।

१ घण्टा समय घटेकाले ८ मार्च २३ घण्टाको भएको छ । आजदेखि डे लाइट सेभिंग सुरु भएकाले समय घटेको हो । यसको अन्त्य आगामी नोभेम्बर १ मा हुनेछ । अर्थात् नोभेम्बर १, २०२० भने २५ घण्टाको हुनेछ ।

आज जसजसले राती १० बजे सुतेर विहान ६ बजे उठ्ने योजना बनाउनुभएको थियो, उहाँहरुले जम्मा ७ घण्टामात्र सुत्न पाउनुभयो । तर नोभेम्बर १ भने यही समयमा सुत्नेले ८ घण्टा होइन, ९ घण्टा सुत्न पाउनुहुनेछ । रातीमा काम गर्नेहरुका लागि भने आज सहज भएको हुनसक्छ ।

सन् २००७ बाट लागु हुनेगरी अमेरिकामा डे लाइट सेभिंग मार्चको दोश्रो आइतबारबाट सुरुहुन्छ र नोभेम्बरको पहिलो आइतबार समाप्त हुन्छ । सन् १७८४ मा यसको आइडिया बेन्जामिन फ्रयांकलिनले ल्याएका हुन् ।

सन् १९१४ देखि सन् १९१८ सम्म पहिलो विश्वयुद्धको बेलामा ब्रिटेनले डेलाइट सेभिंगको प्रयोग गरेको थियो । अमेरिकामा सन् १९८६ देखि सन् २००६ सम्म भने डेलाइट सेभिंग टाइम अप्रिलको पहिलो आइतबार सुरु भएर अक्टोबरको अन्तिम आइतबार समाप्त हुने गथ्र्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com