न्युयोर्कमा कम्तीमा एकहजार व्यक्ति कोरोना संक्रमितको सम्पर्कमा आएको आंशका, सेल्फ क्वारेन्टाइनमा बस्न आदेश


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

न्युयोर्कमा कोरोना संक्रमित वकिलसँग सम्पर्कमा आएका कारण अरु ९ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वकिल, उनको परिवार, छिमेकी र वकिलसँगको सम्पर्कमा आएको परिवारसँग सम्पर्कमा आएका झण्डै १ हजार जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ ।

न्यु रोशेलमा संक्रमित परिवारसमेत सामेल यहुदीहरुको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका दर्जनौं, वकिलको ल फर्ममा काम गर्ने सातजना कामदार र एकजना इन्टर्नर प्रेस्बेटेरियन अस्पतालमा ८ जना कर्मचारीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको हो ।

ती वकिलले काममा जाँदा आउँदा मेट्रो नर्थ ट्रेन प्रयोग गर्ने गरेको जनाइएको छ । त्यतीबेला ट्रेनमा चढेकाहरुमाथि पनि संक्रमणको आशंका गरिएको छ ।

 

न्युयोर्कमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ११ पुगेको छ । न्युयोर्कको न्यु रशेलमा रहेको अर्को परिवारमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमित थप पाँचजना एउटै परिवारका भएको जनाइएको छ । ४६ बर्षकी महिला, उनका ४५ बर्षका पति र उनीहरुका तीनजना छोराछोरीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो परिवार कोरोना संक्रमित वकिलको परिवारसँग सम्पर्कमा आउँदा कोरोना संक्रमण भएको विश्वास गरिएको छ । ती वकिलको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ ।

वकिलका पूरै परिवारमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । ती वकिलकी पत्नी, २० बर्षको छोरो र १४ बर्षकी छोरीमामात्र होइन, वकिललाई गाडीमा राखेर अस्पताल लैजाने छिमेकीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

ती वकिलले न्युयोर्कको म्यानहटनमा सानो ल फर्म संचालन गर्दै आएका थिए, जसमा उनकी पत्नीले पनि काम गर्दै आएकी थिइन् भने छोराले पनि पारालिगलका रुपमा काम गर्दै आएका थिए ।  उनको अवस्था गम्भिर रहेको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमित २० बर्षीय युवक अध्ययनरत युनिभर्सिटी

वेस्टचेस्टर निवासी ५० बर्षका ती वकिल फरबरी २७ मा सुरुमा वेस्टचेस्टरको लरेन्स अस्पतालमा उपचारका लागि गएका थिए । उनले लेवीस एण्ड गार्बज पीसी नामको ल फर्म संचालन गर्दै आएका छन् जुन वान ग्रयाण्ड सेन्ट्रल प्लेसमा रहदै आएको छ ।

उनको वेवसाइट अनुशार उक्त ल फर्ममा वकिल र पारालिगल गरी ७ जना आवद्ध रहेको देखिएको छ । उनकी छोरीले ब्रोंक्समा रहेको सार एकेडेमी एण्ड हाइ स्कुलमा अध्ययन गर्दै आएकी छिन् भने छोराले म्यानहटनको यसिभा युनिभर्सिटीमा अध्ययन गर्दै आएका छन् ।

न्युयोर्कमा सुरुमा एकजना महिला स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो, जसले इरानको भ्रमण गरेकी थिइन् । इरानको भ्रमण गरेका उनका पतिमा भने कोरोनाको संक्रमण देखिएको छैन ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये १० जना वासिंटन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १५७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंटन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com