अस्पताल जानुअघि प्रधानमन्त्रीको  सन्देश ‘समृद्धिको सपनालाई अलपत्र पारेर म अलप हुन्न ‘


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा भर्खर जागृत हुँदै गरेको विकास र समृद्धिको सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताएका छन् । ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न’ ओलीले भनेका छन्, ‘संसारमा काेही पनि अजम्बरी छैन, मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन ।’

अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले दिएको भिडियो सन्देशको पूर्णपाठ
आदरणीय दाजु भाइ तथा दिदी बहिनीहरू मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको सङ्घर्षमा बित्दै आएको छ । कहिले निरङ्कुसताका विरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष, कहिले राष्ट्रिय हित र स्वभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहिने र हुन नदिनेहरू विरुद्धको सङ्घर्ष ।

मुलुकमा व्याप्त यस प्रकारका विभिन्न समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ ।

यसै सन्दर्भमा आजभन्दा झण्डै १२ वर्षअघि मेरा दुर्व मिर्गौलाले काम गर्न छोडेपछि ०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । पर्सि फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदै छु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलाजस्तो जटिल मानिँदैन । यस पटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास व्यक्त गरेको छु ।

त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्रप्त हुँदा म गर्व गर्छु । र, अत्यन्तै खुसी पनि छु । भनिन्छ नि– आशाको दियो बलिरह्यो भने शान्ति र प्रेमको जग मजबुद तुल्याउन सकिन्छ ।

कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउँनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफलाई उभ्याउनु भयो ।
यस वर्षलाई हामीले सम्वृद्धिको आरम्भ वर्ष भनेका छौं । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी भर्खर जागृत हुँदै गरेका हाम्रा सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ ।

संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्पपनि अजम्बरी बन्न होइन । हाम्रा जागृत हुँदै गरेका सपना साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । म पुन एक पटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस् । हामीले देखेको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पुरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु ।

यसबीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्नेछ । विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनैपनि विषय– त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवस्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाईंको समयमा पार्टी र संसद दुबैतिर आवस्यक व्यवस्था गर्न जिम्मेवार नेता–कार्यकर्ता सांसदहरु र लाखौँ पार्टी कार्यकर्ताहरु निरन्तर कृयाशील हुनेमा म विश्वस्त छु । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com