खरिपाटी क्वारेण्टाइनमा राखिएका घर फर्कदै


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर फर्काउने तयारी गरिएको छ ।

दोस्रो पटक गरिएको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ सय ७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरि अर्को १४ दिन क्वारेण्टाइनमा राख्नुपर्ने हुन्छ । खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनु भएका नेपाली सेनाका क्याप्टेन डाक्टर निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताउनुभयो ।

परीक्षण रिपोर्ट बनाउने अन्तिम काम भैरहेको र कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको स्रोतले बताएको छ ।

चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना भने क्वारेण्टाइन बसाई पूरा गरी हिजै घर फर्किएका छन् । उनीहरुलाई नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेण्टाइनमा राखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com