११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार
प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

कोरोना भाइरसको संक्रमण आशंकमा जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुज भारत ल्याएको छ । पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ ।
क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएकाे छ । उक्त जहाजले ११९ जना भारतीय र पाँच विदेशीलाई उद्धार गरेर ल्याएको हो । भारतीय विदेशमन्त्री ए जयशंकरले उद्धार गरिएकामध्ये २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन् ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि ट्विट गर्दै ११९ भारतीय नागरिक उद्धार गर्ने क्रममा १ नेपालीसहित अन्य देशका ५ नागरिकलाई पनि सँगै ल्याइएको जानकारी दिएका छन् । अहिले उद्धार गरिएका सबैलाई भारतीय नागरिकसँगै भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ।
उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन । डायमण्ड प्रिन्सेसबाट ल्याइएकाहरूलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने जनाइएको छ । भारतकाे नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ।
जापानको योकोहास्थित क्वारेन्टाइनमा राखिएकाे डाइमन्ड प्रिन्सेस पानीजहाजमा ३७ सय यात्रु सवार थिए। तीमध्ये बिहीबारसम्ममा ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण नफैलियोस् भनेर उक्त पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको छ ।