राष्ट्रपति ट्रम्पका सल्लाहकारलाई जेल सजाय


प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहाकार एवं सहयोगी रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ।

अमेरिकी संसदसमक्ष सात पटक झुट बोलेको र काममा अवरोध सिर्जना गरेको तथा प्रत्यक्षदर्शीलाई प्रभावित पार्न खोजेको आरोप उनलाई लागेको थियो । ट्रम्पले भने स्टोनलाई सफाइ दिनुपर्ने माग गरेका छन् ।

स्टोन सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पको रसियासँग मिलेमतोका बारेमा भएको अनुसन्धानमा दोषी ठहरिएका सल्लाहाकारहरु मध्ये छैठौं सल्लाहाकार हुन् ।
विकीलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरुबारे संसद्को गुप्तचर समितिसमक्ष झुटो बोलेको भन्दै दोषी ठहर गरिएको हो। विकिलिक्सले ट्रम्पको प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरु सार्वजनिक गरेको थियो ।

अमेरिकी गुप्तचर संस्थाले क्लिन्टनको इमेल रसियन ह्याकरहरुले चुहावट गरेको निष्कर्षमा पुगेको छ । स्टोनको मुद्दा फैसला गर्दै न्यायाधीश ऐमी बर्मन ज्याक्सनले उनको रवैया ‘असहनीय’ भएको र स्टोनले आफूलाई धम्क्याएको बताएकी छन् ।

अभियोजनकर्ताले स्टोनलाई ९ वर्षको जेल सजाय हुनुपर्ने माग गरेका थिए तर न्याय मन्त्रालयले सजाय कटौती गर्ने बताएपछि अभियोजनकर्ताहरु मुद्दाबाट अलग भएका थिए । ४० महिनाको जेल सजायपछि स्टोनलाई दुई वर्षसम्म निगरानीमा बस्नु पर्ने, २ सय ५० घण्टा सार्वजनिक सेवा गर्नुपर्ने र २० हजार डलर जरिवाना तिनुपर्ने फैसला अदालतले गरेको छ ।

उनी १९७० देखि रिपब्लिकन पार्टीमा आबद्ध छन् । सन् १९९० मा स्टोनले ट्रम्पलाई क्यासिनो व्यवसायका लागि परामर्श दिएका थिए र स्टानले नै ट्रम्पलाई राष्ट्रपतिको चुनाव लड्ने सल्लाह पनि दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com