चीनबाट १८५ नेपालीलाई राती दुईबजे काठमाडौं ल्याइँदै, काठमाडौंबाट आज जाने भयो विमान


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज दिउसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने भएको छ । विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको छ ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं आउनेछ । विमान राती २ बजे काठमाडौं आइपुग्नेछ ।

सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी लैजाने भन्ने बारेमा पूर्वाभ्यास पनि गरेको छ ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी लैजाने भन्नेबारे प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने अध्यास गरेको हो । चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी आज बेलुकीसम्ममा सकिने जनाइएको छ ।

चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थाप गरिएको छ । चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ । विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राखिनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको, एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा शैया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा शैया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको सरकारी दावी छ ।

नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, भित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको छ ।

चीनबाट आउनेहरुलाई विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com