प्रियंका चोपडाले यसरी दिइन् ग्रयामी अवार्डको रेड कार्पेटबाट कोबी ब्रायन्टलाई श्रद्धाञ्जली


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

कलाकार प्रियंका चोपडाले ग्रयामी अवार्डको रेड कार्पेटका क्रममा कोबी ब्रायन्टप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । लिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका दिग्गज अमेरिकी खेलाडी कोबी ब्रायन्टप्रति श्रद्धाञ्जली व्यक्त गर्न चोपडाले आफ्नो नंगमा २४ नम्बर लेखेकी थिइन् ।

चोपडा आफ्ना पति निक जोनससँग रेड कार्पेटमा देखिएकी थिइन् । उनले लेखेको २४ नम्बर सानो भएपनि यसको सांकेतिक महत्व भने निकै ठूलो रहेको छ । २४ नम्बर भनेको कोबी ब्रायन्टको सबैभन्दा पछिल्लो जर्सी नम्बर थियो ।

४१ बर्षका खेलाडी ब्रायन्टको उनकी १३ बर्षकी छोरीसँगै आज विहान निधन भएको हो । क्यालिफोर्नियामा भएको दुर्घटनामा ९ जनाको निधन भएकोमा ब्रायन्टका बाबुछोरी पनि परेका थिए ।

ब्रायन्टको निधनमा हलिउडका सेलिब्रेटीहरुदेखि नेताहरुसम्मले दुख व्यक्त गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि ब्रायन्टको निधनबाट आफूहरु स्तब्ध भएको बताएका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् । त्यस्तै सिनेटर एमी क्लोबुचार, मेयर पिट बुटाजज, पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन लगायतले पनि ब्रायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामादेखि सेलिब्रेटी जस्टिन बिबरसम्मले बायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् । खेलसँग सम्बन्धित विभिन्न संघसंस्था र क्लबहरुले पनि दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com