न्युयोर्कको क्वीन्समा निर्माणस्थलबाट प्लाइउड खस्दा ६७ बर्षीय हजुरआमाको मृत्यु


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

न्युयोर्कको क्वीन्समा आजविहान एउटा निर्माणस्थलबाट प्लाइउड खस्दा ६७ बर्षीय हजुरआमाको मृत्यु भएको छ । जियांग जी नामकी ती महिला बाटोमा हिडिरहेका बखत भवनबाट खसेको प्लाइउडले लागेको थियो ।

फ्लसिंगको मेन स्ट्रीटको ४१ रोड नजिकै उक्त घटना भएको हो । ३ फुट लम्बाई र २ फुट चौडाई भएको काठको टुक्राले लागेपछि उनी भुईमा ढलेकी थिइन् । घटना विहान पौने १० बजे भएको हो ।

उक्त काठको टुक्रा पुननिर्माण भइरहेको एउटा ग्रोसरी स्टोरबाट आएर लागेको थियो । भुईमा लडेपछि पनि उनी होसमै रहेको र स्वास फेरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

ती हजुरआमा आफ्ना दुईजना नातीनातिनीसहित प्राय त्यसक्षेत्रमा हिड्ने गरेको छिमेकीहरुले बताएका छन् । न्युयोर्क अग्नी नियन्त्रकहरुले उक्त भवनको अगाडिको भागमा लगाइएको प्लाइउड भत्काएका छन् ।

उक्त स्थलमा अरु खतरा नभएकोबारे अनुसन्धान गरिएको छ । अनुसन्धान जारी रहँदा भवन निर्माण विभागले पैदलयात्रीका लागि फुटपाथ शेड बनाउन घर मालिकलाई निर्देशन दिएको छ ।

गत अगस्तमा मध्यरातमा विना अनुमति काम गरेको पाइएपछि उक्त निर्माण कार्य रोक्न आदेश दिइएको थियो । निर्माण विभागसँग उक्त भवनबिरुद्ध १८ वटा उल्लंघनका मुद्दाहरु रहेका छन् । धेरैजसो मामलाहरु विना अनुमति काम गरेको सन्दर्भका रहेपनि अगाडिको भागका सन्दर्भमा भने थिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com