न्युयोर्कबाट बसाई सराई तीब्र, सबैभन्दा धेरै बसाईसराई फ्लोरिडा र न्युजर्सीमा


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

न्युयोर्क निवासीहरु फ्लोरिडामा बसाई सराई गर्ने क्रम तीब्र बनेको आईआरएसको तथ्यांकले देखाएको छ । अरु राज्यको तुलनामा न्युयोर्क निवासीहरु फ्लोरिडामा बसाई सराई गरिरहेका छन् ।

सन् २०१० देखि सन् २०१८ सम्मको आईआरएसको तथ्यांक अनुशार न्युयोर्क छाडेका ५ जनामध्ये कम्तीमा एकजना फ्लोरिडामा बसाईसराई गरेका छन् । न्युयोर्कबाट बसाई सराई गर्नेहरुमध्ये २१ दशमलव ३ प्रतिशतले फ्लोरिडा छानेका हुन् ।

न्युयोर्क निवासीहरु न्यानो राज्यहरुतर्फ बसाई सराई गर्नेक्रम तीब्र बनिरहेको छ । त्यसको अतिरिक्त न्युजर्सीमा बसाई सराई गर्नेहरु समेत उल्लेख्य छन् । न्युयोर्कमा भन्दा सस्तो भएका कारण न्युयोर्क निवासीहरु न्युजर्सीमा बसाई सराई गरिरहेका छन् ।

अझ रोचक त के छ भने न्युयोर्कबाट न्युजर्सी बसाई सराई गरेकाहरु न्युयोर्क सिटीमा नै काम गर्न आउने गरेका छन् । न्युयोर्कबाट बाहिर राज्यमा बसाई सराई गर्नेहरुमध्ये ८ प्रतिशत नर्थ क्यारोलिनामा, ७ प्रतिशत पेन्सिलभेनियामा, टेक्सास र क्यालिफोर्नियामा ६ प्रतिशत, कनेक्टिकटमा ५ दशमलव ६ प्रतिशत रहेका छन् । त्यस्तै जर्जियामा ४ दशमलव ५ प्रतिशत, साउथ क्यारोलिनामा ३ दशमलव ५ प्रतिशत र भर्जिनियामा ३ दशमलव १ प्रतिशत रहेका छन् ।

एउटा अध्ययनबाट न्युयोर्कको जनसंख्या विगतका बर्षको तुलनामा ७६ हजार ७ सय ९० ले कमी आएको सार्वजनिक भएलगत्तै न्युयोर्क छाडेर जानेहरु कुन राज्यमा बढी गइरहेका छन् भन्नेबारेको तथ्यांक आएको हो । सन् २०१८ मा मात्र न्युयोर्कमा अन्य राज्यबाट बसाई सराई गर्नेहरुभन्दा न्युयोर्कबाट बाहिर बसाईसराई गर्नेहरु १ लाख ८० हजारले बढी थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com