धेरै छावा जन्माउने ‘पूजाकली’ हात्तीकाे मृत्यु
प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार

लामो समयदेखि बिरामी परेकी ३८ वर्षीकी हात्ती ‘पूजाकली’ को मृत्यु भएको छ ।
हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।
पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा। विजय श्रेष्ठले जानकारी दिए । ‘एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो, उनले भने, ‘लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।’
पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियो । पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थियो ।
पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।
विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ । -रासस